स्थानीय वस्तु प्रवर्द्धनका लागि औद्योगिक मेला गरिने

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:५८ मा प्रकाशित

कञ्चनपुर,३० मंसिर–स्थानीय वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले कञ्चनपुरमा पुसको अन्तिम सातादेखि सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ ।
नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत पुसको अन्तिम सातादेखि माघको पहिलो सातासम्म औद्योगिक व्यापार मेला आयोजना गर्ने जनाएको हो ।
नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरका महासचिव सुनिलदत्त पन्तले महेन्द्रनगरको खुल्ला मञ्चमा पुस २६ देखि माघ ५ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एस्टरिस्क एडभर्टाइजिङ प्रालिका अध्यक्ष लेकविक्रम थापाले विगतका मेलाभन्दा यो मेला एकदमै फरक र आकर्षण हुने बताए । उनका अनुसार यस पटकको मेलामा विदेशबाट (डम) मगाइने छ । “डम एक घर जस्तै हुन्छ, त्यसभित्र ८० स्टल हुन्छन्”, अध्यक्ष थापाले भने ।
मेलाबाट यस क्षेत्रको आर्थिक, औद्योगिक, कृषि, पर्यटनलगायत स्थानीय वस्तुको उत्पादनमा टेवा पुग्ने आयोजकको दाबी छ । मेला अवधिमा झन्डै रु चार करोडको कारोबार हुने र एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।
अघिल्ला वर्षहरूमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घले औद्योगिक मेला गर्दैै आएको थियो भने यस वर्ष पहिलो पटक नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरले गर्न लागेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us