
काठमाण्डु, २९ मंसिर– एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो सेमिफाइनलको खेलमा व्वाइज युनियन क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा व्वाइज युनियनले आर्मीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरीमा खेलेपछि र पुनः थपिएको आधा घण्टाको समयमा पनि एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हाफसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन् । आर्मीका खेलाडी सन्तोष नेपालीले खेलको दोस्रो हाफको ४९ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए भने व्वाइज युनियनका खेलाडी शाहीचन्द्र राईले खेलको ८० औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
यसैगरी, निर्धारित समयपछि थपिएको आधा घण्टाको समयमा ब्वाइज युनियनका खेलाडी विनोद लामाले खेलको १०१ औँ मिनेटमा एक गोल गरे भने त्यसको एक मिनेट पनि बित्न नपाउँदै आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याएका थिए ।
टाइब्रेकरको खेलमा आर्मीका सन्तोष नेपाली गोल गर्न चुकेपछि ब्वाइज युनियनको जित सुनिश्ेिचत भएको थियो । यसै वर्ष भएको गोरखा कप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेलमा आर्मीसँगको हारको बदलासमेत व्वाइज युनियनले लियो । ब्वाइज युनियन आर्मीसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
यस जितसँगै ब्वाइज युनियन ३२ वर्षपछि ए डिभिजनबाट पहिलो पटक फाइनलमा प्रवेश गर्न सफल भएको छ । आइतबार दिउँसो २० बजे सेमिफाइनलको अन्तिम खेलमा मनाङ मस्र्याङदी क्लबले सङ्कटा क्लबको सामना गर्र्दैछ ।