
काठमाण्डु, २९ मंसिर– नेपालमा अर्गानिक कफी उत्पादनको इतिहासले २५ वर्ष पूरा गरेको छ ।
यो अवधिमा अर्गानिक कफीको विकास दिनदिनै बढ्दै गएको भन्दै सरोकारवालाले अर्गानिक कफी उत्पादनलाई महत्वपूर्ण निर्यातजन्य बवस्तुमा समावेश गरी यसको विकासमा सरकारले ध्यन दिनुपर्ने बताएका छन् ।
नेपाल अर्गानिक कफी प्रोडक्टसको रजत महोत्सवका अवसरमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले अर्गानिक कफीको उत्पादन सोचेंभन्दा बढी भइरहेको बताउँदै कफीका लागि सरकारले छुट्टै नीति बनाएर कफी विकास बोर्ड गठन गर्ने बताए । उनले नेपाल अर्गानिक कफी प्रोडक्टस्ले २५ वर्ष मनाउनु देशकै गौरवको कुरा भएको उल्लेख गरे ।
सोही कार्यक्रममा प्याक्टका कार्यक्रम निर्देशक योगेन्द्र कार्कीले कफीको व्यबसायीकरणले आधुनिक कृषिमा नयाँ फड्को मारेको बताए । कार्यक्रममा कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेले कफी उत्पादनलाई राज्यले महत्व दिए स्वरोजगार सृजनामा उल्लेख्य वृद्धि हुने बताए ।