देउसी, भैलोबाट खेलकुद भवन

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ९:३७ मा प्रकाशित

उदयपुर, २९ मंसिर– उदयपुरको  कटारी बजारमा तिहारमा स्थानीय युवाले देउसी तथा भैलो खेलेर सङ्कलन गरेको रु एक लाखबाट खेलकुद भवन निर्माण सुरु गरेका छन् ।

कटारी गाविसस्थित पूर्वपट्टिको गाविसको जग्गामा खेलमैदानको शिलान्यास गरेर भवनको जग खन्न सुरु गरिएको कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष  राजेश श्रेष्ठले बताए ।

कटारी गाविसको भोगाधिकारभित्र रहेको उक्त जग्गामा गाविसले केही जग्गा उपलब्ध गराउने सम्झौता भएबमोजिम खेलकुद  भवन निर्माण हुन लागेको कटारी गाविसका सचिव गङ्गाप्रसाद पोखरेलले जानकारी दिए ।

भवन निर्माणका लागि कटारी गाविसले समेत रु एक लाख उपलब्ध गराउने भएको सचिव पोखरेलले बताए । यस्तै कटारी उद्योग वाणिज्य सङ्घले ५० बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ भने बाँकी रकम जिल्ला विकास समिति उदयपुरबाट समेत माग गरिन लागेको स्थानीय युवा अशोक श्रेष्ठले बताए ।

उनका अनुसार नपुग रकम खेलकुद मन्त्रालयबाट माग गरिने र बाँकी विभिन्न सङ्घसंस्थाको सहयोगबाट समेत सङ्कलन गरेर भवन निर्माण गरिने छ । इलाका प्रशासन कार्यालय कटारीका प्रमुख विकास सुन्दास, कटारी उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष राजेश श्रेष्ठसहितका प्रमुख व्यक्तित्वबाट संयुक्त रुपमा सो भवनको शिलान्यास गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us