
चितवन, २९ मंसिर– बर्डफ्लुका कारण ह्रास आएको कुखुरा उत्पादनमा चितवनमा सुधार हुँदै गएको छ ।
बर्डफ्लुको त्रासले व्यवसायीले उत्पादन घटाएकोमा अहिले विस्तारै कुखुरापालनमा पुनःआशा पलाएको व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताए ।
गएको चैतबाट यहाँका कुखुरामा बर्डफ्लु देखिएकोमा त्यसको केही महिनाको अन्तरालमा १५ वटा फर्ममा फैलिएको थियो । जसमा लाखौं कुखुरा मार्नु परेको थियो तर अहिले सङ्क्रमण नभएकाले उत्पादनमा वृद्धि भइरहेको डा भट्टराईले बताए ।
माउ उत्पादनका लागि अझै ६ महिना लाग्ने उहाँले बताउनुभयो । अहिले जिल्लामा कुल ३० प्रतिशत उत्पादन ह्रास रहेको र माग बढी भएकाले भाउमा समेत वृद्धि भएको डा. भट्टराईले बताए । अहिले जिल्लामा करिब २० प्रतिशत भाउ बढेको छ ।