क्षतिपूर्ति पाए ठगीमा परेका १२ युवा र आठ मृतकका परिवारले

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १६:१४ मा प्रकाशित

खोटाङ, २८ मङ्सिर–वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका खोटाङका १२ युवाले क्षतिपूर्ति लिएका छन् । दुई वर्षको अवधिमा म्यानपावर कम्पनी र एजेन्टको ठगीमा परी विभिन्न देशमा पुगेर स्वदेश फिर्ता भएका जिल्लाका १० तथा सुनसरी र गोरखाका एक÷एक युवाले क्षतिपूर्ति लिएका हुन् ।
    सुरक्षित आप्रवासन परियोजना सूचना केन्द्रले १४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको समीक्षात्मक बैठकमा वैदेशिक रोजगारीका सिलसिलामा ठगीमा परी ओमान पुगेर फर्किएका रतन्छा–६ का प्रकाश राई, मलेसिया पुगेका बुइपा–६ का सागर राई, नेर्पा–४ का तोयानाथ बास्तोला, दिक्तेल–३ का राजकुमार पाण्डे, टेम्मा–९ का प्रदीप खत्री र डाँडागाउँका अश्वीन सिग्देलले क्षतिपूर्ति पाएका हुन् ।
    कतार पुगेर फिर्ता भएका नुनथला–९ का हर्क तामाङ, बाक्सिला–५ का नवराज तामाङ, नुनथला–९ का ताराकुमार तामाङ र बाक्सिला–५ का मित्रकुमार तामाङले क्षतिपूर्ति लिएको सूचना केन्द्रका निमित्त कार्यक्रम संयोजक लोकमणि रिजालले जानकारी दिए ।  
    सूचना केन्द्रको पहलमा अलपत्र अवस्थाबाट उद्धार गरेर स्वदेश फर्काइएका उनीहरूले निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको पिपुल्स फोरमको कानुनी परामर्श र सहयोगमा म्यानपावर कम्पनी तथा एजेन्टबाट क्षतिपूर्ति लिएका हुन् ।
    खोटाङका १० जनासहित मलेसिया पुगेर फर्किएका सुनसरी झुम्काका राजन खत्री र कतारबाट फर्किएका गोरखा मनोकामना–१ का सन्तोष परियारले पनि क्षतिपूर्ति लिएका छन् ।
    ठगिएका युवाले प्रतिव्यक्ति ४५ हजारदेखि ८० हजार रुपैयाँसम्मका दरले कुल रु दश लाख ६७ हजार क्षतिपूर्ति पाएका छन् । ठगीमा परी खाडी मुलुक पुगेर अलपत्र परेको अवस्थामा उनीहरुलाई सूचना केन्द्रको पहलमा स्वदेश फर्काइएको थियो ।
    आठ मृतक परिवारले क्षतिपूर्ति पाए
०६८ असोज यता विभिन्न देशमा ज्यान गुमाएका खोटाङ–८ का मृतक परिवारले पनि क्षतिपूर्ति पाएको परियोजनाले जनाएको छ । साउदी अरबमा ज्यान गुमाएका नेर्पा–८ का मनबहादुर कामी, सप्तेश्वर–७ का जीवन राई, अर्खौले–१ का नरबहादुर पुरी, बाझेच्यानडाँडाँ–५ का खड्गबहादुर गुरुङ, खार्मी–९ का रामनाथ राई, मलेसियामा ज्यान गुमाएका खिदिमा–६ का सिंहराज राई, राजापानी–७ का कमलकुमार राई तथा कतारमा ज्यान गुमाएका बाझेच्यानडाँडा–२ का दिलीप भुजेलको परिवारले क्षतिपूर्ति लिएको परियोजनाका खोटाङ संयोजक भक्त राईले जानकारी दिए ।
    उनीहरूले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट एक लाख ५० हजार रुपैयाँ तथा बीमा कम्पनीबाट बाँकी रकम गरी प्रतिपरिवार कम्तीमा रु ६ लाख ५० हजारदेखि रु आठ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन् ।
    यो अवधिमा जिल्लाका ११ जनाको उद्धार तथा गैर–कानुनीरुपमा काम गर्दै आएका जिल्लाका पाँच युवालाई वैधानिकता प्रदान गर्न सहयोग पु¥याएको परियोजनाले जनाएको छ । दुई वर्षको अवधिमा अलपत्र, ठगी, मृत्युलगायतका प्रकृतिका १०७ वटा मुद्दा दर्ता भएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us