
काठमाण्डु, २८ मंसिर– पश्चिम सेती जलविद्युत् आयोजनाको सम्बन्धमा देखिएका केही समस्या समाधान गर्न सरोकारवाला निकायका बीचमा पछिल्लो पटक सैद्धान्तिक सहमति भएको छ ।
ऊर्जा, अर्थ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयलगायतका सरोकारवाला निकायले आयोजनाका सम्बन्धमा देखिएका अप्ठ्यारा हटाउन सहमत भएको पत्र बोर्डलाई पठाएको छ ।
बोर्डलाई ऊर्जा, अर्थ र भूमिसुधार मन्त्रालयले केही दिन पहिलेमात्र स्थानीयस्तरमा आवश्यक व्यवस्था मिलाउने विषयमा पत्र पठाएका हुन् ।
यो सहमतिसँगै सो आयोजनाको काम अगाडि बढाउन लगानी बोर्डलाई बाटो खुलेको छ । स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरोकारवाला निकाय तयार भएपछि प्रवद्र्धकसँग वार्ता अगाडि बढाउँदै लगानी सम्झौता गर्नेलगायतका आवश्यक तयारीमा बोर्ड जुट्ने बताइएको छ ।
कुल ७५० मेगावाट क्षमताको सो आयोजनाको प्रमुख लगानीकर्ता थ्री गर्जेजले स्थानीय समस्या समाधान, प्रसारण लाइन निर्माण, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुर्नवास, उत्पादित विद्युत्को व्यापार व्यवसायलगायतका विषयमा चिनियाँ लगानीकर्ताले चासो राखेका थिए ।
बोर्डले प्रवद्र्धकले उठाएका विषयलाई सरोकारवाला निकायका बीचमा छलफल गरी समाधानको उपाय खोज्ने विश्वास दिलाएको बोर्डका सहसचिव मुकुन्द पौडेलले जानकारी दिए ।