मुसुरोको उन्नत बिउ किसानलाई

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ३:५२ मा प्रकाशित

तुलसीपुर, २८ मंसिर–मुसुरोको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषि विकास कार्यालय दाङले यस वर्षदेखि मुसुरोखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराएको छ । कृषि विकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीका अनुसार यसपटक जिल्लाका दुई नगरपालिका र चार गाविसका किसानलाई अनुदानमा मुसुरोको बीउ उपलब्ध गराइएको हो ।

गाविसअन्तर्गत विभिन्न कृषि सेवा केन्द्रमा आबद्ध घोराही र तुलसीपुर नगरपालिकाका करिब ५०० किसानलाई पाँच मेट्रिक टन उन्नत जातको मुसुरोको बीउ अनुदानमा वितरण गरिएको केसीले जानकारी दिए । स्थानीय जातको मुसुरोबाट किसानले फाइदा लिन नसकेपछि उनीहरुको आर्थिक विकासमा टेवा प्रदान गर्ने उद्देश्यले कार्यालयले किसानलाई उन्नत जातका खजुरा १, खजुरा २ का साथै हाइब्रिड जातका मुसुरोको बीउ वितरण गरेको हो ।

बाली विकास निर्देशनालयको सहयोगमा प्राप्त उन्नत जातको मुसुरोको बीउ वितरण गरिएका किसानलाई कार्यालयले यतिखेर क्षमता अभिवृद्धिका कार्यक्रम पनि दिन सुरु गरेको छ । जिल्लामा हाल १६६ हेक्टर जमिनमा मुसुरोखेती हँुदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us