लघुउद्यमबाट राम्रो आम्दानी

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ३:३१ मा प्रकाशित

बेलौरी, २८ मंसिर–कन्चनपुर जिल्लाका मुक्त हलियाले लघुउद्यमबाट राम्रो आम्दानी भएको बताएका छन् । बिहीबार राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले महेन्द्रनगरमा गरेको लघुउद्यमीसँगको अनुभव आदान–प्रदान कार्यक्रममा सहभागीहरुले  यस उद्यमबाट राम्रो आम्दानी भएको बताएका हुन् ।

मुक्त हलियाको मर्यादित जीवनका लागि सञ्चालन गरिएको पहल परियोजना कार्यक्रमअन्तर्गत कञ्चनपुरका मुक्त कमैयालाई वैकल्पिक रोजगारीका लागि विभिन्न प्याकेज दिइएको मुक्त हलिया समाजका समाजिक विकास अधिकृत प्रभूनिधि पन्तले जानकारी दिए । पन्तका अनुसार पहल परियोजनाअन्तर्गत मुक्त हलियालाई स्वरोजगार बनाउनका लागि तालिम प्रदान गर्नुका साथै बीउबिजन दिइएको थियो ।

कार्यक्रममा तिलकेनीका मुक्त हलिया वीरराम लुहारले फर्निचर उद्योगबाट राम्रो आम्दानी भएको बताए । लुहारले उद्योग खोलेदेखि हालसम्म एक लाख ५० हजार आम्दानी गरेको बताए । यस्तै सोही ठाउँका प्रेमबहादुर कोलीले तरकारीखेतीबाट आफू सन्तुष्ट भएको बताए । कञ्चनपुरका मुक्त हलियाको जीवन परिर्वतनका लागि विभिन्न सीपमूलक कार्यक्रम ल्याएको राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us