
गाईघाट, २७ मंसिर–सुन्तला उत्पादन हुने सुरु सिजनमा नै उदयपुर जिल्ला लगायतका क्षेत्रमा सुन्तलाको भाउ महँगो हुँदै जान थालेको छ । मंसिरमा नै सुन्तलाको भाउ आकासिएको सुन्तला व्यापारीसमेत बताउँछन् ।
मंसिर, पुस तथा माघ महिना सुन्तलाको सिजनको महिना हुनाले पनि यस समयमा सुन्तलाको भाउमा कमी आउनुपर्ने हो । तर उदयपुरको सदरमुकाम गाईघाट लगायतका क्षेत्रमा भने सुन्तलाको भाउ अहिले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्म पुगेको छ ।
सुरु सिजनमा नै सुन्तला महँगो हुन थालेपछि यस क्षेत्रमा सर्वसाधरण सुन्तला किनेर खान नसकिने अवस्था आउन थालेको बताउँछन् । सुन्तलाको भाउ महँगो भएको विषयमा गाईघाटका स्थानीय माया ठकुरी भन्छिन्, ‘अहिले सुन्तलाको सिजनमा नै ७० रुपैयाँ प्रतिकिलो मूल्य पर्न थाल्यो, यो त भारतको काश्मिरी स्याउभन्दा पनि महँगो भयो, अब सर्वसाधारणले सुन्तला किनेर खान नसकिने भयो ।’
यता सुन्तला व्यापारीसमेत सुन्तलाको भाउ सुरुमा नै केही महँगो भएको कुरा बताउँछन् । गाईघाटका स्थानीय सुन्तला व्यापारी दिनेश साह भन्छन्, ‘जिल्लाको पहाडी क्षेत्रबाट नै सुन्तला महँगो मूल्यमा खरिद हुने गरेको छ, आफूहरूले नै ६५ रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेका छौं, ७० रुपैयाँ प्रतिकिलो बिक्री नगरे आफूहरूलाई नाफा हुँदैन ।’
उदयपुरको पहाडी गाविसहरू आँपटार, लाफागाउँ, जाँते, रौता, बलाम्ता तथा ठाना गाउँ क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ । यस पटक समयमा नै वर्षा भए पनि सुन्तलाको फूल फुल्ने र फल लाग्ने सिजनमा नै हावाहुरी आएको कारण सुन्तलाको फूल झरेको कारण पनि सुन्तला सोचेजस्तो उत्पादन नभएको सुन्तला उत्पादक कृषक बताउँछन् ।
उदयपुरको सदरमुकाम गाईघाटमा उदयपुर जिल्लाबाहेक छिमेकी जिल्ला खोटाङबाट समेत सुन्तला आयात हुँदै आएको छ । खोटाङ क्षेत्रमा यातायात पुग्न थालेपछि खोटाङमा उत्पादन गरेको सुन्तला सिधै धरान तथा अन्यत्र पैठारी हुने गरेको कारण पनि गाईघाट क्षेत्रमा सुन्तलाको भाउ निकै बढेको व्यापारीहरू बताउँछन् । रासस