विद्युतभार कटौती हुँदैन नाम्चेमा

काठमाण्डु टुडे २०७० मंसिर २७ गते २:१२ मा प्रकाशित

namche_bazaar-nepalसोलुखुम्बु, २७ मंसिर–हिउँद लाग्दै गर्दा देशभर विद्युतभार कटौतीको समय थपिँदै गए पनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचे लगायतका स्थानमा कहिल्यै विद्युतभार कटौती हुँदैन । तेह्र वर्षअघि खुम्बु विद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या नभएको हो ।

पर्यटकको बाक्लो चाप भएको समयमा हिटर लगायतका विद्युतीय उपकरण प्रयोग गर्दा पनि त्यहाँ विद्युत्को समस्या हुँदैन । ८०१ घरपरिवारका लागि सेवा दिइरहेको सो विद्युत्बाट पर्यटकीय क्षेत्रमा निकै सहज भएको छ ।

काठमाण्डुबाट कामको सिलसिलामा चार वर्षअघि नाम्चे आएका राजेन्द्र देसारलाई यहाँको प्राकृतिक मनोरमतासँगै चौबिसै घण्टा उज्यालो दिने बिजुलीले पनि लोभ्याएको छ । राजधानी काठमाण्डु पुग्नासाथ विद्युत्भार कटौतीको मार सहनुपर्ने देसारले नाम्चेको विद्युत्बाट निकै खुसी भएको बताए ।

तेह्र वर्षअगाडि अस्ट्रियाको सहयोगमा करिब १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथा खुम्जुङको स्याङबोचे, खुन्दे, खुम्जुङ भ्याली लगायतका बासिन्दालाई विद्युत् सेवा उपलब्ध गराइरहेको छ । कहिल्यै अवरुद्ध नहुने विद्युत्का कारण व्यवसायमा सहजता भएको खुम्बु कम्युनिकेसन साइबरका युवास तामाङ बताउँछन् ।

अहिले ५३० किलोवाट विद्युत् उत्पादन भइरहेको खुम्बु विद्युत् कम्पनीबाट ८०१ घुरधुरीले सेवा लिइरहेका छन् । त्यहाँको उच्च गुणस्तरीय विद्युत्का कारण व्यवसायीलाई निकै फाइदा पुगेको कपडा व्यवसायी बम्बे दर्जीले बताए ।

तेह्र वर्षअघि सेवा सुरु गर्दा खुम्बु विद्युत् कम्पनी ६३० किलोवाट क्षमताको थियो । अहिले उपकरणहरुको लामो समयसम्म प्रयोगका कारण ५३० किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यसलाई मर्मत गरेर ६३० किलोवाट क्षमता बनाउन गएको अफसिजनमा तीन महिनाभन्दा बढी समय विद्युत् बन्द गरेर काम सुरु गरिएको भए पनि काम सम्पन्न नभएकाले अहिले काम स्थगित गरिएको कम्पनीका लेखा अधिकृत पेम्बा शेर्पाले जानकारी दिए । मर्मतपछि ६३० किलोवाट उत्पादन हुनेछ भने अहिले पनि माग धानिरहेको छ । नाम्चेका व्यवसायी बिबी खालिङ भन्छन्, ‘स्रोत साधनको उपयोग गरेमा फाइदा हुँदोरहेछ ।’

विद्युत् उत्पादनका लागि अस्ट्रियाले सहयोग गरेको हो । तर त्यसको व्यवस्थापनमा नाम्चे र खुम्जुङका बासिन्दाको ठूलो मिहेनत छ । खुम्बु बिजुली कम्पनीका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा भन्छन्, ‘सही व्यवस्थापनकै कारण लोडसेडिङको समस्या नभएको हो ।’

सगरमाथाको प्रवेशद्वारका रुपमा विश्वमा परिचित नाम्चे बजारको साख खुम्बु विद्युत् कम्पनीले बढाइदिएको छ । नियमित विद्युत्का कारण यहाँको पर्यटन व्यवसाय फस्टाउन सहयोग पुगेको व्यवसयीहरु बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us