उरुग्वेमा गाँजा बैधानिक

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १:५२ मा प्रकाशित

gajaकाठमाण्डु, २७ मंसिर–विश्वभर लागुऔषधका रुपमा प्रयोग हुने भएका कारण प्रतिबन्धित बनेको गाँजा किनबेच तथा प्रयोगलाई वैधानिकता प्रदान गर्ने उरुग्वे पहिलो राष्ट्र बनेको छ । उरुग्वेली संसदले गाँजा व्यापार तथा प्रयोगलाई वैधानिकता प्रदान गर्ने अध्यादेश जारी गरेपछि उरुग्वे विश्वमा गाँजालाई वैधानिकता दिने पहिलो राष्ट्र बनेको हो ।

उरुग्वेली सांसदहरुबीच चलेको १२ घण्टा लामो छलफलपछि उरुग्वेली संसद गाँजा व्यापारलाई वैधानिकता प्रदान गर्न सहमत भएको हो । उरुग्वेको सो ऐतिहासिक सहमतिपछि उरुग्वेमा १८ वर्ष पुगेका जस कसैले पनि गाँजा किनबेच गर्न पाउने कानुनी प्रावधान बनेको छ । उरुग्वेको यस विवादित कानुन आगामी अप्रिल भन्दाअघि कार्यान्वयन हुने नदेखिएको एजेन्सीहरुले जनाएका छन् ।

उरुग्वेली सरकारले यस्तो कानुन निर्माणले लागु औषध धन्दा तथा कारोबारमा कमी आउने अपेक्षा लिएको छ । विश्लेषकहरुले भने यसले आम मानिसमा पनि गाँजाको पहँुच पुर्याउने भएकाले सरकारले सोचे जस्तो प्रतिफल दिनेमा शंका व्यक्त गरेका छन् । बामपन्थी धारका उरुग्वेली राष्ट्रपति जोस मुजिकाद्वारा प्रस्तावित सो अध्यादेश जारी गर्न मंगलबार संसदले सहमति दिएपछि उरुग्वेमा गाँजाले वैधानिकता पाएको मात्र नभई विश्व इतिहासमै यो यस्तो ऐतिहासिक निर्णय बन्न पुगेको छ ।

उरुग्वेको यस निर्णयले अन्तर्राष्ट्रिय रुपमै आलोचित हुन थालिसकेको छ । अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण संस्था इन्टरनेसनल नारकोटिक्स कन्ट्रोल बोर्ड (आइएनसीबी)ले उरुग्वेले अन्तर्राष्ट्रिय लागुऔषध सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । गाँजा प्रयोग तथा व्यापारलाई वैधानिकता प्रदान गर्ने नगर्नेबारे विवादका बीच नै उरुग्वेले यसलाई वैधानिकता प्रदान गरेको हो । बोलिभिया, ब्राजिल, मेक्सिको तथा कोलम्बिया गाँजालाई वैधानिक रुप दिनु पर्छ भन्ने धारणा राख्ने राष्ट्रहरु हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us