दरौंदी ‘ए’ले गति लियो

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ४:३३ मा प्रकाशित

गोरखा, २६ मंसिर–जिल्लाको दरौंदी नदीमा निर्माण हुन लागेको ६ मेगावाट क्षमताको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाले इन्टेक निर्माण, अफिस क्याम्प र पानी थिग्राउने ठाउँ निर्माण गरिरहेको छ ।

डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको आयोजनाका निर्देशक पदम गुरुङले जानकारी दिए । गुरुङले भने, ‘धमाधम काम चलिरहेको छ, अबको एक वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।’

कालिका कन्ट्रक्सनले गत असारदेखि दरौँदी ‘ए’ साना जलविद्युत् आयोजनाको निर्माण थालेको हो । आयोजना निर्माण सम्पन्न भएपछि गोरखा जिल्लालाई विद्युतभार कटौतीमुक्त बनाउन सकिने बताइएको छ । निर्माण सम्पन्न हुँदासम्म ८५ करोड खर्च लाग्ने अनुमान निर्माण कम्पनीको छ । आयोजना सम्पन्न भएपछि ४० भन्दा बढी स्थानीयले त्यसमा रोजगारीसमेत पाउनेछन् । अहिले करिब २०० जनाले निर्माणको काम गरिरहेका छन् ।

गोरखामा अहिलेसम्म मेगावाट क्षमताको जलविद्युत् आयोजना बनेको छैन । यहाँ बनेका आयोजनाहरु किलोवाट क्षमताका मात्रै छन् । उत्तरी क्षेत्रका स–साना खोलाबाट किलोवाट क्षमताका विद्युत् निकालिएको छ । कुल दुई हजार ५०० किलोवाट विद्युत् गोरखामा उत्पादन भइरहेको छ ।  दरौँदी नदीमा बाँध बाँधेर नहर आयोजनाअन्तर्गत विद्युत् उत्पादन काम हुन लागेको हो । मुच्चोक, ताकुमाझ, लाकुरीबोट र सौपानी गाविस आयोजनाको प्रभावित क्षेत्रभित्र पर्दछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us