महोत्वसमा एकैदिन ५० लाख कारोबार

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ५:१८ मा प्रकाशित

रुपन्देही, २५ मंसिर–‘स्थानीय बजारमा नै खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान वनाऔं भन्ने मूल नाराका साथ स्थानीय सिद्धार्थ रंगशालामा भइरहेको महोत्सवमा एकैदिन ५० लाख कारोबार भएको छ ।

मंसिर २१ गतेदेखि शुरु भएको पर्यटन महोत्सवको चौथो दिन सोमबार करिब ५० लाख मूल्य बराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका आर्थिक समितिका संयोजक अनिल ज्ञवालीले बताए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै आधुनिक तथा दोहोरी गीतबाट दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिएको छ ।

सोमबारदेखि नै महोत्सव परिसरमा भएको कुस्तीमा नेपाली मूलका हिमाञ्चल प्रदेश भारतका शङ्कर थापाले वर्चस्व कायम गरेका छन् । महोत्सवका संयोजक मनिषकुमार जोसी र कुस्ती दङ्गलका संयोजक करुणानिधि त्रिपाठीले संयुक्त रूपमा उदघाटन गरेको खेलमा तीन जना भारतीय कुस्तीबाजलाई पर्छार्दै थापाले अखडामा केही समय कब्जा जमाएको थियो ।

यसैगरी सोमबारै भएको कुस्तीमा नवलपरासीका बैजनाथ चौधरीले भारतका विरु पहलवानलाई हराए छन् भने गोरखपुरका रामु यादवले कानपुरका गुड्डुलाई पराजित गरे । नवलपरासी नेपालका राजु थापा पथ्थरले हरियाणा भारतका लालजी पहलवानलाई हराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us