
गोरखा, २५ मंसिर–गोरखामा बर्खे धान उत्पादन हुने जमिन विस्तार भएकोे छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षभन्दा यो वर्ष पाँच हेक्टर बढी जमिनमा धानखेती भएको हो ।
अघिल्लो वर्षसम्म जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये १२ हजार १९५ हेक्टर जमिनमा धानखेती भएको थियो । तर यो वर्ष पाँच हेक्टरभन्दा बढी जमिनमा धानखेती भएको पाइएको कार्यालयका योजना अधिकृत कृष्ण पौडेलले जानकारी दिए ।
खेतीयोग्य जमिन विस्तारसँगै यो वर्ष धान उत्पादन पनि पाँच प्रतिशतले बढेको छ । यो वर्ष ३८ हजार ५८५ मेट्रिक टन धान उत्पादन भएको पौडेलले बताए । अघिल्लो वर्ष जिल्लाभरबाट ३७ हजार १८३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
योजना अधिकृत पौडेलका अनुसार सिँचाइ सुविधा उपलब्ध हुने क्रम बढ्दै जाँदा धान उत्पादन हुने जमिन पनि विस्तार हुँदै गएको हो । यस्तै यो वर्ष मौसम अनुकूल भएकाले पनि धान उत्पादन बढेको उनको भनाइ छ ।
पछिल्लो समय धानको उन्नत बीउ चयनतर्फ किसान सचेत भएकाले पनि उत्पादन बढेको कार्यालयले जनाएको छ ।