
हेटौंडा, २४ मंसिर– मकवापुरबाट पनि समानुपातिक सभासद पर्नुपर्ने माग गर्दै राप्रपा नेपाल मकवानपुरका युवाहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी तथा आगजनी गरेका छन् ।
राप्रपा नेपालका भातृ संगठन राष्ट्रिय युवा मोर्चाका युवाहरुले पार्टी अध्यक्ष कमल थापाले निर्वाचन अघि जनाएको प्रतिवद्धताअनुसार मकवानपुरबाट सभासद नबनाएको भन्दै थापालाई समेत जिल्ला प्रवेशमा रोक लगाएका छन् । युवाहरुले पार्टी कार्यालयका महत्वपूर्ण कागजातहरु जलाएर अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
मकवानपुरबाट २८ हजार मत पाए पनि राप्रपा नेपालले मकवानपुरलाई वेवास्ता गरेको भन्दै सो पार्टीका युवाहरु आक्रोशित भएको युवा मोर्चाका नगर अध्यक्ष दिनेश लामाले बताए ।