विश्व व्यापार संगठनमा सहमति

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ११:३५ मा प्रकाशित

WTOकाठमाण्डु, २४ मंसिर । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को नवौँ मन्त्रिस्तरीय सम्मेलनले पाँच बुँदे सहमति गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

इन्डोनेसियाको बालीमा सम्पन्न सो सम्मेलनमा अधिकतम् विकसित राष्ट्रहरुको प्याकेज अन्तर्गतका भन्सार तथा कोटा रहित बजार पहुँचमा ९७ प्रतिशतसम्म छुट दिने, सेवा व्यापारसम्बन्धी छुटको कार्यान्वयन गरिने सहमति भएको छ ।

त्यसैगरी कृषिजन्य वस्तु कपासको बजार पहुँचको सुनिश्चितता गर्ने, सहुलीयतपूर्ण उत्पत्तिको नियम र व्यापार सहजीकरण र कृषि सम्बन्धी सम्झौता भएको सञ्चार मन्त्रालयमा सोमबार प्रवक्ता–पत्रकार भेटमा जानकारी गराइएको हो ।

नेपाल – भारतबीच वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको दुईदिने बैठक आगामी पुस ६ गतेदेखि काठमाण्डुमा आयोजना हुने,रसुवा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि रसुवा जिल्लाको टिमुरेमा हालै चीन सरकारको तर्फबाट प्राविधिक समूहले सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरेको मन्त्रालयका सहायक प्रवक्ता दीपकराज पाण्डेले बताए ।

नेपाल खाद्य संस्थानमार्फत ३० जिल्लामा ५८ हजार ३२१ क्विन्टल खाद्यान्य बिक्री भएको र राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा गरी एक लाख ४३ हजार ८६७ क्विन्टल खाद्यान्य मौज्दात रहेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us