थाइल्यान्डमा प्रतिपक्षी सांसदहरूले सामूहिक रूपमा राजिनामा दिएपछि प्रधानमन्त्रीद्वारा निर्वाचनको प्रस्ताव

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १६:४१ मा प्रकाशित

Thai PM

ब्याङकक, २३ मङ्सिर-थाइल्यान्डमा प्रतिपक्षी सांसदहरूले सामूहिक रूपमा राजिनामा दिएपछि राजनीतिक सङ्कट अझै गहिरिएको छ । समस्या भोगिरहेकि प्रधानमन्त्री यिङलक सिनावात्राले आइतबार सरकारविरोधी आम प्रदर्शन अन्त्य गर्न निर्वाचन गर्ने आफ्नो चाहना व्यक्त गरेकी छन ।
ब्याङककमा सोमबार सरकारविरोधी अर्को ठूलो प्रदर्शन हुने अनुमान गरिएको छ । विरोधी नेताहरूले यो प्रदर्शन प्रधानमन्त्री सिनावात्रालाई पदमुक्त गर्न तथा उनका दाजु थाकसिनको प्रभाव कम गर्न अन्तिम प्रदर्शन हुने बताएका छन् ।
डेमोक्र्याट पार्टीका सांसद सिरिकोक सोफाले प्रधानमन्त्री थाकसिनको शासनको विरोधमा जनतासँग यात्रा गर्न आफूहरूले सांसदको रूपमा राजिनामा दिने निर्णय गरेको बताए ।
सात वर्षअगाडि अर्बपतिबाट प्रधानमन्त्री बनेका थाकसिनलाई राजासमर्थक जनरलहरूले विद्रोह गरी पदच्युत गरेपछि थाइल्यान्ड शृङ्खलावद्ध रक्तपातपूर्ण घटनाबाट गुज्रिएको छ ।
यिङलकको सरकार पनि करिब एक महिनासम्म प्रदर्शनबाट हल्लिएको छ र कहिलेकाँही यी प्रदर्शनमा दशौँ हजार जनताको भीड जुट्ने गरेको छ । प्रदर्शनकारीले मुलुकको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई हटाइ शासन अनिर्वाचित ‘जनपरिषद्’ लाई दिन चाहेका छन् ।
प्रधानमन्त्री यिङलकले प्रजातान्त्रिक प्रक्रियालाई प्रदर्शनकारीहरूले सम्मान गर्ने हो भने आफू निर्वाचन गर्न तयार रहेको पुनः बताइन । उनका विरोधीमा राजावादी तथा मध्यमवर्गीय जनता रहेका छन् ।
उनले राष्ट्रलाई टेलिभिजनबाट सम्बोधन गर्दै बहुमतले चाहेमा सरकार संसद विघटन गर्न तयार रहेको बताइन । थाइल्यान्डमा संसद विघटन भएपछि ६० दिनभित्र निर्वाचन हुनुपर्छ ।
उनले प्रदर्शनकारी तथा प्रमुख राजनीतिक दलले निर्वाचनको नतिजालाई स्वीकार नगरे त्यसले द्वन्द्व बढाउने बताइन । प्रदर्शनकारी नेताहरूले आफू नयाँ निर्वाचनबाट सन्तुष्ट नहुने बताएका छन् । प्रधानमन्त्री सिनावात्राले यस विषयमा जनमत सङ्ग्रह पनि गर्न सकिने बताइन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us