एमाओवादी हराउन भोट बेच्नु गैरराजनीतिक चरित्र

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १७:५० मा प्रकाशित

mohanकाठमाण्डु, मंसिर–नेकपा-माओवादीको केन्द्रीय समिति बैठकमा एकीकृत माओवादी र त्यो पार्टीका उम्मेदवारलाई पराजय गराउनका लागि पैसामा काँग्रेस र एमालेका उम्मेदवारलाई भोट बेच्ने माथि कार्वाही गरिनु पर्ने आवाज उठेको छ ।
अध्यक्ष मोहन बैद्यले पेश गरेको ६ पृष्ठ लामो राजनीतिक प्रस्ताव माथि सोमबार टिप्पणी गर्ने नेता सचिव नेत्रबिक्रम चन्द बिप्लवसहित अधिकाँशले यस्तो आवाज उठाएका हुन । एमाओवादीका नेताहरुले माओवादीका नेता कार्यकर्ताले काँग्रेस एमालेलाई आफनो पार्टीका कार्यकर्ताको भोट बेचेर मोटो रकम असुलेको आरोप लगाउँदै आएका छन  ।
एक पोलिटव्यूरो सदस्यका अनुसार प्रतिशोधको राजनीति दीगो नहुने भन्दै एकीकृत माओवादीको पराजयमा आफनो पार्टीले बिजयउत्सव बनाउनुको औचित्य नरहनेमा पनि नेताहरुले बैठकमा जोड दिएका छन । उनीहरुले एकीकृत माओवादी पराजय हुनुमा उसले अवलम्बन गरेको कार्यदिशा गलत रहेको पनि बताएका छन । संबिधानसभा निर्वाचनको समीक्षा गर्ने क्रममा नेताहरुले आफनो पार्टी भित्रका गलत संस्कार र संस्कृतिमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका छन ।
बाह्य रुपमा संयुक्त मोर्चा निर्माण गरी सशक्त संघर्षको उठान गर्नु पर्ने,आन्तरिक रुपमा जनयुद्धको जगमा जनबिद्रोहको तयारी गर्नु पर्ने,पार्टी भित्रको बिकृति र बिसंगति हटाउन बिशेष शुद्धीकरण अभियान सञ्चालन गर्नु पर्ने,क्रान्तिकारी शक्तिहरुको वीचमा ध्रुवीकरणका लागि पहल गर्नु पर्ने सुझाव नेताहरुले दिएका छन । एकीकृत माओवादी हेटौडा महाधिवेशनको कार्यदिशामा आत्माआलोचित भई आएमा पार्टी एकता गर्नु पर्ने,एकीकृत माओवादी सडक संघर्षमा आएको अवस्थामा सहकार्य गरी अगाडि बढनु पर्ने सुझाव पनि बैठकमा नेताहरुले दिएका छन ।
निर्वाचन अगाडि एकीकृत माओवादीलाई कार्यनीतिक रुपमा लगाईएको निशाना अव काँग्रेस एमालेतिर सोझिनु पर्ने,संबिधानसभा खारेजीका लागि संघर्ष गर्नु पर्ने,सर्वपक्षीय राजनीतिक सम्मेलनको पक्षमा माहोल सिर्जना गर्नु पर्ने सुझाव पनि नेताहरुले दिएका छन ।
संविधानसभा बिघटन गर्न वैद्यको प्रस्ताव

संबिधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संबिधानसभा बिघटन गराएर सर्वपक्षीय उच्चस्तरिय राजनीतिक सम्मेलन गरी संयुक्त राष्ट्रिय सरकार गठन गर्ने प्रस्ताव अघि सारेका छन् । ललितपुरको कुपण्डोलमा आइतबार शुरु भएको केन्द्रीय समिति बैठकमा ‘बिचारधारात्मक र साँगठनिक रुपमा एकताबद्ध हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ उचाईमा प्रदान गरौ’ शिर्षकको प्रस्ताव माथि सो पार्टीका नेताहरुले सोमबारदेखि आफ्ना सुझाव दिएका छन ।

दोस्रो संबिधानसभा निर्वाचनपछि नयाँ संबिधानसभा गठन नहुँदै संबिधानसभा बिघटनको प्रस्ताव ल्याएर बैद्यले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएका छन् । एकीकृत माओवादीसहित १६ दलले संबिधानसभा निर्वाचनमा धाँधली र षड्यन्त्र भएको भन्दै त्यसको छानबीन गर्न माग गरिरहेकावेला बैद्यले संविधानसभा नै बिघटनको प्रस्ताव ल्याएका छन् ।

१० बर्षे जनयुद्ध लडेर शान्ति प्रक्रियामा आउँदा माओवादीले संविधानसभालाई नै मुख्य मुद्दा बनाएको थियो । सर्वपक्षीय सम्मेलन अधिकार सम्पन्न संबैधानिक अंगको रुपमा रहनुपर्छ, जसले राष्ट्रिय राजनीतिका महत्वपूर्ण बिषय निर्णय गर्न सकोस् सचिव देव गुरुङले भने, ‘राजनीतिक रुपमा हामी सही ठहरियौ, प्राविधिक रुपमा केहि कमी कमजोरीका बावजुद बहिस्कार आन्दोलन सफल भएको रिपोर्टहरु आएका छन् ।’

बैठकमा निर्वाचनमा एकीकृत माओवादीका उम्मेदवारलाई पराजय गराउनमा आफूहरुको बहिस्कार आन्दोलनले सहयोगी भूमिका निर्वाह गरेको रिपोर्टिङ भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us