लाखौंको बालुवागिट्टी भारततिर

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ११:५३ मा प्रकाशित

महोत्तरी, २३ मंसिर– महोत्तरी जिल्लाको पश्चिमी सीमा नाकाबाट दैनिक राजस्व छली लाखौँ रुपैयाँको बालुवागिट्टी भारत निकासी भइरहेको छ ।

नेपाल सरकार तथा महोत्तरीको स्थानीय प्रशासनले केही दिनदेखि जिल्लाको मुलनाका भिट्ठामोडबाट हुने गरेको बालुवागिट्टी भारत निकासी बन्द गरेपछि जिल्लाको सहायक नाकाबाट बालुवागिट्टी निकासी हुन थालेको छ ।

जिल्लाको पश्चिमी सहायक नाकाहरु सम्सी, रघुनाथपुर र खैरबन्नीबाट दैनिक २५ देखि ३० ट्रिपरसम्म बालुवागिट्टी भन्सार छली भारत निकासी हुने गरेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् ।

अवैधरुपमा दैनिक भारत निकासी भइरहेको प्रत्येक सानो ट्रिपरमा १० घन मिटर र ठूलो ट्रिपरमा २० घनमिटर बालुवागिट्टी अटाउँछन् भने नेपाल सरकारको दररेटअनुसार एक घन मिटरमा ४ सय राजस्व तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा महोत्तरीको पश्चिमी नाकाबाट अवैध बालुवागिट्टी निकासीले गर्दा दैनिक लाखौँ रुपैयाँ राजस्व छली भइरहेको छ भने सम्बन्धित निकाय मौन रहेका छन् ।

जिल्लाको भिट्ठामोड मूल भन्सारअन्तर्गतका ती सहायक नाकाबाट नेपाल र भारतका केही माफियाले चोराई लुकाई स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा दैनिक बालुवागिट्टी भारत लैजाने गरेको आरोप स्थानीयले लगाएका छन् । जिल्लाको चुरे संरक्षण, नदी संरक्षण र बर्सेनि हुने गरेको उर्वर भूमि विनासलाई रोक्नका लागि अवैध बालुवागिट्टी भारत निकासी बन्द गरिए पनि केही तस्करले सो कार्यलाई अझै निरन्तरता दिइरहेको अवस्था छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us