
गाईघाट, २३ मंसिर–उदयपुरको त्रियुगा नगरपालिका–३ गाईघाट बजारस्थित पशु वधशाला अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहँदै आएको छ । पाँच वर्षअघि करिब चार लाख ५० हजारको लगानीमा त्रियुगा नदी किनारमा वधशाला निर्माण गरिए पनि अहिलेसम्म मासु व्यापारीले प्रयोगमा ल्याएका छैनन् ।
मासु व्यापारीले गाईघाट बजारका विभिन्न स्थानमा नै अव्यवस्थित ढङ्गले पशु वध गरी मासु बिक्री गर्दै आएका छन् । मुख्य गरेर राँगा, सुँगुर तथा खसी काट्न र बिक्री गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त वधशाला प्रयोग नहँुदा नगरपालिकाको लगानी त्यतिकै खेर गइरहेको छ भने मासु व्यापारीले बजार क्षेत्रमा जथाभावी मासु काट्ने र पशुवध गरेर बिक्री गर्ने कार्यले गाईघाट बजारका विभिन्न स्थान फोहोर तथा प्रदूषित हुँदै आएको छ ।
‘त्रियुगा नदी किनारमा वधशाला निर्माण भएको छ, त्यसैको छेउँमा मान्छे पोल्ने मसानघाटसमेत छ, अनि त्यस्तो स्थानमा मासु काटे पनि कसैले किन्न आउँदैनन् र खाँदैनन्,’ मासु व्यापारी रहरमान राईले भने, ‘त्यसैले त्यो वधशाला प्रयोग नगरेका हौं ।’
पुरानो वधशाला प्रयोगविहीन अवस्थामा रहेपछि अब अर्को छुट्टै स्थानमा छिटोभन्दा छिटो वधशाला निर्माण हुनुपर्ने गाईघाटका मासु व्यापारीलगायत स्थानीय बासिन्दाको समेत धारणा रहेको पाइन्छ । रासस