गाउँ सफा राख्न सफा विद्यार्थी अभियान

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ७:४५ मा प्रकाशित

इलाम, २२ मङ्सिर–खुल्ला दिसामुक्त अभियान सफल पार्न जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयले इलाममा नयाँ अभियान सञ्चालन गरेका छन् ।
खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन ‘सफा विद्यार्थी अभियान’ सञ्चालन गरेका हुन् । जसअनुरूप जिल्लाका प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीको विवरण लिनुपर्नेछ ।
जिसिकाले सफा विद्यार्थी अभियान र सफा विद्यालय सर्वेक्षण फाराम तयार पारेर जिविसमार्फत प्रत्येक गाविसका विद्यालयमा पु¥याइएको छ । सफा विद्यार्थी अभियानमा विद्यार्थीको नाम, शौचालय भए–नभएको, नभए कहिलेसम्म बनाउने, फोहोर फाल्ने भाँडो (डस्विन) घरमा राखे–नराखेका लगायतका सूचक तयार पारिएको छ ।
“विद्यार्थीलाई शौचालयसम्बन्धी ज्ञान दिलाउन सकेमा उसले आफ्नो घरमा शौचालय बनाउन अभिभावकलाई प्रेरित गर्न सकोस् भन्ने मुख्य उद्देश्य हो,” जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले भने ।
यस्तै सफा विद्यालय सर्वेक्षणका लागि खानेपानी तथा स्वास्थ्यसम्बन्धी विवरणअन्तर्गत विद्यालयमा स्वच्छ खानेपानीको सुविधा छ–छैन,विद्यालयको सरसफाइ नियमित–साप्ताहिक, विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने गरेको वा नगरेको सूचक राखिएको छ । शौचालयसम्बन्धी विद्यालयमा भए–नभएको, नभए कहिलेसम्म बनाउने, विद्यालयमा डस्विनको व्यवस्था छ वा छैन लगायतका सूचक राखी फाराम तयार पारिएको छ ।
जिल्लाका अधिकांश विद्यालयमा शौचालय निर्माण भएता पनि पानीको उपयुक्त व्यवस्थापन हुन नसक्दा प्रयोग विहीनसमेत हुने गरेको जिसिअ पुरीले बताए । ‘शिक्षा कार्यालयले शौचालय माग गर्नेलाई दिने तर पानीको प्रबन्ध छ–छैन भनेर चाहिँ नहेर्नाले कतिपय बन्द अवस्थामा रहेको पाइएको छ’उनले भने ।
शिक्षा अधिकारीसहितको अनुगमनका क्रममा विद्यार्थी पोसाकमा आउने तर शिक्षक भने विना पोसाकमा आउनाले शिक्षक अनुशासनमा नबस्ने गरेको पाइएको छ तर सफा विद्यार्थी र विद्यालय अभियानले अब शिक्षक विद्यार्थी दुवैलाई अनुशासनको दायरामा र सरसफाइमा बस्न कडाइ गर्ने जिसिअ पुरी बताउछन ।    Nepali-Students
अस्पताल वा स्वास्थ्य संस्थामा आउने बिरामी जचाउँदा प्रत्येक १० जनामध्ये सात जना बिरामीमा खानेपानी तथा सरसफाइजन्य बानी व्यहोराका कारण रोगले ग्रस्त बनाउने गरेको छ । जिविसले आगामी चैत मसान्तसम्ममा सबै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरी जिल्लालाई नै घोषणा गर्ने तयारी अनुरूप मङ्सिर २४ गते एकैदिन जिल्लाभर विद्यार्थीको फाराम भर्न लगाइएको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रवीण ढकालले बताए । फाराम भरेको एकसातासम्ममा उपलब्ध गराउनसमेत जिविसले अनुरोध गरेको छ ।
सफा विद्यार्थी हुनका लागि घरमा मापदण्डयुक्त शौचालय बनाएको, शौचालय नियमित प्रयोग गर्ने बानी गरेको, शौचालय सफा राख्ने, नियमित दाँत माझ्ने, नङ सफा राख्ने, सफा लुगा लगाउने, विद्यालय जाँदा पोसाक र जुत्ता लगाउने, खानुअघि र शौचालय गइसकेपछि साबुनपानीले हात धुने, स्वस्थ र सफा खाना खाने, फोहोरलाई जथाभावी नफाली डस्विनमा मात्र फाल्ने बानी बसालेको हुनुपर्नेछ ।
जिल्लाका ४८ गाउँ विकास समिति र एक नगरपालिकामध्ये साँखेजुङ, नामसालिङ, बरबोटे, माइमझुवालगायतका गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् भने केही मङ्सिर महिनासम्ममा घोषणाको तयारीमा छन् । ‘स्वस्थ, स्वच्छ र सभ्य’ इलाम बनाउनका लागि यो अभियानले सहयोग पुग्ने ढकालको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us