यमन डब्लुटीओ को १६० औं सदस्य राष्ट्र

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ६:१० मा प्रकाशित

WTOकाठमाण्डु, २१ मंसिर–अरेवियन मुलुक यमन विश्व व्यापार संगठनको १६० औं सदस्य राष्ट्र भएको छ । मन्त्रीहरुको नवौं विश्व सम्मेलनले उसको सदस्यता अनुमोदन गरेको हो । यमनलाई सदस्यता दिने टुंगो भए पनि आफ्नो देशको संसदबाट आवश्यक कागजात अनुमोदन नगराएसम्म उसले सदस्यता पाउने छैन ।

यमनलाई डब्लुटीओ सदस्यता दिनेबारे भएको औपचारिक बैठकलाई सम्बोधन गर्दै अति कम विकसित राष्टहरुको समूह (एलडीसी) का संयोजक तथा वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले यमनको प्रवेशसँगै डब्लुटीओमा अति कम विकसित मुलुकहरुको उपस्थिति र आवाज सशक्त बन्दै गएको बताए । उनले सदस्य बनाउने क्रममा अति कम विकसित मुलुकहरुलाई झन्झटिला प्रावधान लगाइदिँदा उनीहरुले थुप्रै किसिमका पीडा भोग्नुपरेको उल्लेख गरे । ‘सदस्य बन्ने प्रक्रियामा रहेका यस्ता मुलुकलाई सरल, पारदर्शी र कम खर्चिलो बनाउनु पर्छ ,’ कोइरालाले भने ।

मन्त्री कोइरालाले यसका लागि आर्थिक अवस्था कमजोर भएका मुलुकको क्षमता र विकास अभिवृद्धि गर्न आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताउँदै धान्न नसक्ने प्रावधान हटाउनुपर्नेमा जोड दिए ।

व्यापार सरोकारका विषयमा सदस्य राष्ट्रहरुले एकीकृत र सशक्त आवाज उठाउनु पर्नेमा उनको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us