‘छ महिनामा स्थानीय चुनाव, एक वर्षमा संविधान’

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ६:०४ मा प्रकाशित

Prakash-Man-Singhकाठमाण्डु, २१ मंसिर–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले ६ महिनामा स्थानीय निकायको चुनाव गराउने र एक बर्ष भित्र नयाँ संविधान जारी गर्ने दावी गरेका छन् । पार्टी प्यालेस संघले शुक्रबार काठमाण्डुमा गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । त्यसपछि मात्रै राष्ट्रपति निर्वाचनको पक्षमा आफ्नो पार्टी रहेको महामन्त्री सिंहले जानकारी दिए ।

उनले राष्ट्रपति चयनबारे काँग्रेस र एमालेबीच गम्भीर छलफलको आवश्यकतामा जोड दिए । ‘अहिले राष्ट्रपतिका विषयमा बाहिर आएका कुराले नराम्रो सन्देश प्रवाह भइरहेको छ, सो विषयमा काँग्रेस तथा एमालेबीचमा गम्भीर छलफल हुन जरुरी छ,’ महामन्त्री सिंहले भने ।

आफ्नो पार्टी ठूलो दलका रुपमा स्थापित भएकाले सबैलाई मिलाएर सहमतिमा सरकार तथा संविधान निर्माणको प्रयत्न गरिने उनको भनाइ छ । सकेसम्म सहमतिमा र सहमति जुट्न नसके लोकतान्त्रिक शक्तिको समन्वयमा एक वर्षभित्र प्रक्रियागत रुपमा लोकतान्त्रिक संविधान जारी गरिने उनको भनाइ थियो ।

नयाँ सरकार गठन भएपछि बजार महँगी नियन्त्रण तथा विधिको शासन कायम गरी जनतालाई राहतको अनुभूति गराउने समेत उनले प्रतिबद्धता व्यक्त गरे । सामाजिक सुरक्षा ऐनले भोजभतेरमा फजुल खर्च कटौती गरे पनि सम्बन्धित व्यवसायीका समस्यालाई वैज्ञानिक ढङ्गले सम्बोधन गरी समाधान गर्ने उनले बचन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us