आठ हजार पर्यटक खुम्बु क्षेत्रमा

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ४:०५ मा प्रकाशित

सोलुखुम्बु, २१ मंसिर–गत कात्तिकमा आठ हजार २८२ जना विदेशी पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । जसमा पाँच हजार १५८ महिला र तीन हजार १०० पुरुष रहेका सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क उल्लेख छ ।

भ्रमण गर्नेहरुमध्ये सबैभन्दा बढी बेलायतका एक हजार १२० जना, जर्मनीका ८८९ जना र अमेरिकाका ८०२ जना पर्यटक रहेका छन् । त्यस्तै सार्क क्षेत्रबाट १२२ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । त्यस अवधिमा अस्ट्रेलियाका १० वर्षे एक बालकले निःशुल्क प्रवेशाज्ञा पाएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको भ्रमणका लागि विदेशी पर्यटकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

पर्यटक प्रवेश शुल्क, पर्यटकीय सहयोग शुल्क, निकुञ्ज क्षेत्रमा ढुङ्गा, बालुवा र मालिङगोको पुर्जी, हेलिकोप्टर अवतरण शुल्कलगायत गरी सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेमार्फत दुई करोड १७ लाख ३४ हजार ८००  रुपैयाँ राजस्व प्राप्त भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका अनुसार २०६८ सालको कात्तिकमा सात हजार ७९९ र २०६९ सालको कात्तिकमा नौ हजार १०५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us