
काठमाण्डु– एक पछि अर्को गर्दै संविधानसभा अदालतमा हालै सम्पन्न संविधानसभा निर्वाचनका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुले उजुरी गर्न थालेका छन् । बिहिबार मात्र सो अदालतमा तीन उजुरी परेका छन् ।
यसअघि सोलुखुम्बु जिल्लाबाट विजयी नेपाली काङ्ग्रेसका बलबहादुर केसी, सिराहा जिल्ला क्षेत्र नं. ५ बाट विजयी एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सुनसरी जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारविरुद्ध उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः एनेकपा माओवादीका गोम्बु शेर्पा, नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठ, नेकपा (एमाले)कै उम्मेदवार भगवती चौधरीले उजुरी दिएका थिए ।
सोलुखुम्बुका केसी र सुनसरीका गच्छदारलगायतका विपक्षीलाई उक्त अदालतले आवश्यक कागजात सहित दस दिनभित्र उपस्थित हुन आदेश जारी गरिसकेको छ भने अन्य उम्मेदवारका हकमा आदेश जारी हुन बाँकी छ ।
बिहिबार काठमाण्डु–४ का विजयी उम्मेदवार गगन थापाविरुद्ध एमाओवादीका उम्मेदवार नन्दबहादुर पुन, दोलखा–१ का नेकपा एमालेका विजयी उम्मेदवार पार्वत गुरुङविरुद्ध काङ्ग्रेसका उम्मेदवार जीपछिरिङ लामा र मोरङ–४ का एमाओवादीका विजयी उम्मेदवार शिवकुमार मण्डल केवट विरुद्ध दयानन्द मण्डलले उजुरी दिएका हुन् ।
उम्मेदवार पुनले दर्ता गराउनुभएको उजुरीमा ५० प्रतिशतभन्दा बढी खसेका आफ्नो मत नदेखाइएको, बदनियतपूर्वक मतगणना गराइएको, मतदाताले सही गरेको अधिकट्टी नझिकाइकनै मतगणना गराइएको भन्दै क्षेत्र नं. ४ को निर्वाचन बदर गर्न माग गरेका छन् ।
यसैगरी, दोलखा–१ को निर्वाचनमा विपक्षी गुरुङका तर्फबाट डर र धाकधम्कीसहित गुण्डागर्दी गरेर मतदान केन्द्र आफ्नो कब्जामा लिने काम भएको भन्दै प्रतिस्पर्धी उम्मेदवार लामाले पुनः निर्वाचन गराउन माग रेका छन् ।