धितो नराखी नियमविपरीत भटाभट ठेक्का

काठमाण्डु टुडे २०७० मंसिर २० गते १३:३० मा प्रकाशित

saptari mapसप्तरी, २० मंसिर– राजविराज नगरपालिकाले आन्तरिक आयतर्फको ठेक्कामा नियमविपरीत धितो बिना नै ठेक्का बन्दोबस्त गरेको पाइएको छ ।

स्थानीय निकायले कुनै पनि ठेक्का बन्दोबस्त गर्दा ठेक्काको कबोल रकम एकमुष्ट बुझाउनुपर्ने वा कबोल रकमको तीन भागको एक भाग नगद र बाँकीको बैंक ग्यारेन्टी दिनुपर्ने प्रावधान छ, तर राजविराज नगरपालिकाले तीन जना ठेकेदारलाई बिना धितो लाखौँको ठेक्का दिएको पाइएको छ ।

नगरपालिकाले आन्तरिक आयतर्फ लगाउने गरेको सवारी कर, बालुवा ढुङ्गा, गिट्टी, इँटा, माटोसमेतको ठेक्का, हटिया गुदडी ठेक्कामा धितो नै नलिई ठेकेदारलाई ठेक्का दिएको पाइएको छ । ठेक्कावापत ठेकेदारले बुझाउनुपर्ने लाखौँ रुपैयाँ नगरपालिकाले असुल उपर गर्न बाँकी रहेको छ । नगरपालिकाले ठेकेदारबाट रु ३४ लाख ७९ हजार ६८५ असुल उपर गर्न बाँकी रहेको नगरपालिकाको लेखापाल शत्रुधन दासले बताए ।

आव २०६५/०६६ मा हटिया गुदडी ठेक्का लिएका राजविराज–६ बस्ने त्रिभुवन यादवले ठेक्कावापत धितो नै नराखेको नगरपालिकाको कर शाखाले जनाएको छ । ठेक्कावापत तिर्नुपर्ने रु एक लाख ४० हजार ८६५ पनि बुझाएका छैनन् ।

यसैगरी सोही आवमा उमेशप्रसाद यादवले धितो नराखी रु आठ लाखमा ठेक्का लिनुभएको थियो । उहाँले लिएको ठेक्कावापत रु पाँच लाख ७३ हजार ७०० नगरपालिकालाई नतिरेको कर शाखाका मो आलम खानले बताए । त्रिभुवन यादव र उमेश यादव मात्र होइन, आव २०६२/०६३ मा हटिया गुदडीको ठेक्का लिएका मनोजकुमार साहले पनि धितो नराखी मौखिक आधारमा ठेक्का लिनुभएको थियो । ठेक्काबापत उहाँले रु एक लाख ५६ हजार नगरपालिकालाई तिरेका छैनन् ।

यस्तै आव २०६२/०६३ मै बालुवा, ढुङ्गा ठेक्का लिएका नर्घो निवासी संञ्जीवकुमार यादवले पनि धितो नै नबुझाई ठेक्का लिएका थिए । ठेक्काबापत यादवले पनि रु तीन लाख ९६ हजार ६४८ नगरपालिकालाई बुझाएका छैनन् । नगरपालिकाकै केही कर्मचारीलाई आफ्नो प्रभावमा लिएर यादवले बिना कुनै प्रतिस्पर्धा ठेक्का लिएको नगरपालिका कर्मचारी स्रोतले जनाएको छ ।    रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us