हिमालमा जलवायु परिवर्तनको असर देखिँदै

काठमाण्डु टुडे २०७० मंसिर २० गते ८:०३ मा प्रकाशित

सोलुखुम्बु, २० मङ्सिर–जलवायु परिवर्तनसम्बन्धी सुन्दै आएका हिमाली क्षेत्रका समुदायले यसको असर अब प्रत्यक्ष महसुस गर्न थालेका छन् ।
हिमाली बस्ती थुक्ला, जोङ्ला, गोरकसेप र लबुचे जस्ता बस्तीमा समयमा हिउँ नपर्दा पर्यावरणीय असन्तुलन देखापर्न थालेको र  हिमाली क्षेत्रमा हिमनदी पग्लने क्रम पनि तीव्र बनेको छ । हिमनदीको बहने धारसमेत बर्सेनि परिवर्तन भइरहँदा हिमाली क्षेत्रका बासिन्दा चिन्तित बन्न थालेका छन् । Mountain
सगरमाथा क्षेत्रमा पर्ने अग्ला हिमशृङ्खला केही वर्ष अघिसम्म बाह्रै महिना हिउँले ढाकिरहन्थ्यो तर अहिले ती शिखर हिमश्रृङ्खला भन्न लायकका छैनन् । हिउँ पर्न छाडेपछि अहिले ती शिखर काला पहाडमा परिणत भएका हुन् । हिमाली क्षेत्रका समुदायले हेर्दाहेर्दै यी हिमाल कालो पहाडमा परिणत भएका हुन् । करिब आठ वर्ष अघिसम्म घर नै पुरिने गरी हिउँ पर्ने यस क्षेत्रमा अहिले हिउँ देख्न मुस्किल पर्छ । खुम्जुङ–७ जोङ्लाका पासाङ छिरिङ शेर्पालाई बाक्लो हिउँ परेपछि हेलिकप्टरले उद्धार गरिएको थियो । शेर्पा भन्छन“त्यसयता यसक्षेत्रमा बाक्लो हिउँ कहिल्यै परेको छैन, आजभोलि त यो क्षेत्र अर्कै भएको छ ।”
समयमा हिउँ नपर्दा वातावरणीय असन्तुलन हुने समस्यासमेत देखापर्न थालेको छ । हिमाली क्षेत्रमा हरियाली देखिन छाडेको छ भने हिमनदी बहने धारसमेत बर्सेनि परिवर्तन हुँदा हिमाली बस्तीका बासिन्दालाई चिन्तित तुल्याएको पथप्रदर्शक छिरिङ शेर्पाको भनाइ छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरलाई अब नाङ्गो आँखाले समेत देखिन थालिएको छ । गोक्यो क्षेत्रमा ३० वर्षदेखि नियमित बस्दै आउनुभएका सुरेन्द्र शर्माका अनुसार हिमनदी पग्लने दर वृद्धि हुन थालेको छ । सो अवधिमा ङोजोम्बा हिमनदी करिब १० मिटर गहिरिएको र  त्यति जति नै चौडाइमा पनि वृद्धि भएको शर्माको भनाइ छ ।
मुख्य पर्यटकीय याममा मौसम बिग्रिएपछि यस क्षेत्रको पर्यटन व्यवसाय बर्सेनि प्रभावित हँुदै आएको छ । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रका बस्ती कालान्तरमा खतरामा पर्न सक्ने सम्भावना जानकार आँैल्याउँछन्  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us