गहुँको बीउ वितरणमा समस्या

काठमाण्डु टुडे २०७० मंसिर २० गते २:१५ मा प्रकाशित

wheatरौतहट, २० मंसिर–जिल्ला कृषि विकास कार्यालय रौतहटद्वारा किसानलाई अनुदानको उन्नत जातको गहुँको बीउ वितरणमा समस्या भएको छ । जिल्लाका २७ वटा डिलरले अनुदानको उन्नत जातका बीउ अनियमित तरिकाले वितरण गरेपछि समस्या भएको हो ।

जिल्लामा एक हजार ८ सय मेट्रिक टन गहँुको बीउ आवश्यकता रहेको अवस्थामा २ सय ६० मेट्रिक टन बीउ मात्र जिल्लाका डिलरमा आएपछि थप समस्या भएको हो । डिलरले तोकिएकोभन्दा बढी रकम लिएको गुनासो बढेपछि जिल्ला कृषि विकास कार्यालयले वितरण गर्ने कार्य गरेको थियो ।

कार्यालयका कर्मचारीले रकम लिई कुपन बिक्री गर्न थालेपछि झन् समस्या भएको कार्यालयका कर्मचारीहरु बताउँछन् । ३५ प्रतिशत अनुदान भएकाले गहँुको बीउ वितरणमा चलखेल भएको बताइन्छ । रौतहटमा विभिन्न डिलरबाट किसानलाई उन्नत जातको गहँुको बीउ वितरण भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजनारायण यादवले दाबी गरे ।

अहिले उन्नत जातको गहुँको बीउतर्फ किसानको आकर्षण बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कुपन भए पनि बीउ नपाएका किसानले नाराबाजी गर्दै विरोध जनाएका छन् । करिब एक हजार ३ सय कुपन किसानको हातमा रहेको अनुमान गरिएको छ । अधिकांश कुपनमा सहीसमेत छैन । कर्मचारीलाई गालीगलौज गरेपछि बिनासहीको कुपन वितरण गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us