धानको उत्पादन दस प्रतिशत बढ्यो

काठमाण्डु टुडे २०७० मंसिर २० गते २:०४ मा प्रकाशित

तेह्रथुम, २० मंसिर– तेह्रथुम जिल्लामा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षभन्दा धानको उत्पादन राम्रो भएपछि किसान पनि खुसी छन् । गत वर्ष प्रतिमुरी दुई हजार रुपैयाँमा किनबेच भएको धान अहिले दुई हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

तर, धानको उत्पादन बढे पनि अझै उचित मूल्य नपाएको किसानहरुको गुनासो छ ।

पिप्लेका महेन्द्र गुरागाईंले भने, ‘गत वर्षभन्दा दुई मुरी धान बढेको छ तर धान बेचेर घर धान्न समस्या छ ।’ तीन वर्षयता धानको उत्पादन बढेको कृषकहरु बताउँछन् । धानको उत्पादनसँगै खर्च पनि गत वर्षभन्दा दोबर बढेको स्थानीय कृषकको भनाइ छ ।

धानखेतीका लागि मौसम अनुकूल भएकाले उत्पादन बढे पनि खर्चको अनुपात झन्डै दोबर बनेको साब्लाका राजकुमार रसाइलीले बताए । ‘गत वर्ष २० हजार खर्चमा रोपिएको धान यस वर्ष ३० हजारभन्दा बढी खर्च भएको छ,’ रसाइलीले भने, ‘मल र कामदार अभावले खर्च धान्न समस्या भएको छ । काम गर्ने युवा जति विदेशतिर जान थालेपछि खेतीका काम अलपत्र हुन थालेका छन् । खेतीको समयमा मजदुर नपाउँदा धेरै खेतबारी बाँझै रहेका छन् ।’

कृषि विकास कार्यालयले भने गत वर्षकोभन्दा १० प्रतिशतले धानको उत्पादन बढ्ने दाबी गरेको छ । गत वर्ष समय अनुकूल नभएकाले धानको उत्पादन घटे पनि यस वर्ष समय अनुकूल भएकाले उत्पादन बढ्ने संकेत देखिएको कृषि विकास कार्यालयका प्रसार अधिकृत सत्यदेव मण्डलले बताए । तेह्रथुममा १० हजार १ सय ४२ हेक्टर क्षेत्रफलमा धानको खेती हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us