हिमालय क्षेत्रको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धता

काठमाण्डु टुडे २०७० मंसिर २० गते ०:०४ मा प्रकाशित

काठमाण्डु, २० मङ्सिर–हिमालय क्षेत्रको विकास र उत्थानका लागि यस क्षेत्रका मुलुकहरूको सहकार्यलाई अझ मजबुद बनाउँदै यहाँको जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धताका साथ हिन्दूकुश हिमालय क्षेत्रमा गरिबी र जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ ।
राष्ट्रिय योजना आयोग र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को  आयोजनामा भएको सो सम्मेलनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढेको र त्यसले जनताको जीविकोपार्जन झन कठिन बन्दै जाँदा वातावरणीय चुनौती र गरिबीको समस्या बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यस्ता जोखिम नियन्त्रणका लागि यस क्षेत्रका मुलुकहरूको सहकार्य आवश्यक रहेकामा जोड दिएको छ । Dolpa
सम्मेलनमा सन् २०१५ पछि तर्जुमा गरिने दिगो विकास लक्ष्यमा पर्वतीय राष्ट्रहरूको एकीकृत प्रस्ताव तयार गर्नुका साथै जलवायु परिवर्तन र विश्वव्यापी रूपमा बढेको तापक्रमका कारण हिमाली क्षेत्रको जनजीवन कष्टकर हुँदै गएकाले यसबाट सिर्जित समस्याको न्यूनीकरण तथा अनुकूलनसम्बन्धी ठोस कार्ययोजनाको खाँचो औँल्याइएको छ ।
हिमालय क्षेत्रको विकास र उत्थानका लागि सम्मेलनका सहभागीहरूले प्रतिवद्धता जनाउँदै सहश्राब्दी विकास लक्ष्य पूरा गर्दै सन् २०१५ पछिको अवधारणा तयार गर्नेतर्फ पनि सम्मेलनमा प्रस्तुत विभिन्न सुझावहरूका बारेमा छलफल भएको छ ।
सम्मेलनमा इसिमोडका सदस्य राष्ट्रहरू नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानका नीति निर्माता, सरकारी, निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय प्रमुख दातृ निकायहरूका करिब २०० प्रतिनिधिको सहभागिता रहेको थियो ।
सन् २०१५ मा सहश्राब्दी विकास लक्ष्यको अवधि समाप्त भएपछि तर्जुमा गरिने विकास एजेन्डामा यस क्षेत्रका राष्ट्रहरूको सामूहिक प्रस्ताव तयार गर्न यो सम्मेलन उपयोगी भएको इसिमोडका कार्यक्रम निर्देशक एकलव्य शर्माले बताए ।
सम्मेलनमा हिमालय क्षेत्रका जनताले भोग्नुपरेका गरिबी र जोखिमताका विषयमा विभिन्न देशका विज्ञहरूद्वारा प्रस्तुत कार्यपत्रमाथि गहन छलफल भएको थियो । चारदिने सो सम्मेलनको गत आइतबार राष्ट्रपति डा रामबरण यादवले उद्घाटन गरेका थिए ।
विश्वका अन्य देशको तुलनामा पाँच प्रतिशतले बढी गरिबहरूको बसोबास रहेको यस क्षेत्रमा करिब २१ करोड १० लाख मानिस गरिबीको रेखामुनि बाँचिरहेका छन् । विश्वमा अति गरिब रहेका एक अर्ब मानिसमध्ये २६ देखि ३१ प्रतिशत मानिस यही क्षेत्रमा बसोबास गर्छन् र यहाँ सात जनामा एकजना कुपोषित छन् ।

इसिमोडको ३० वर्षे यात्रा

हिमालय क्षेत्रको विकास तथा यस क्षेत्रमा वसोवास गर्ने जनताको जीविकोपार्जन गर्ने  एवम् यहाँको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले ३० वर्ष पूरा गरेको छ ।
हिन्दूकुश हिमालय क्षेत्रमा रहेका आठवटा देशहरूले यस क्षेत्रको जनताको आर्थिक स्तरमा सुधार ल्याउने र पर्या–प्रणालीको संरक्षणका लागि सामूहिकरूपमा कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले ५ डिसेम्बर १९८३ मा इसिमोडको स्थापना गरेका थिए । यसमा अफगानिस्तान, बंगलादेश, भुटान, चीन, म्यान्मार, भारत, नेपाल र पाकिस्तान सदस्य रहेका छन् ।
हिन्दूकुश हिमालय क्षेत्रको दिगो विकासका लागि अन्तरसरकारी संयन्त्रको रूपमा स्थापना भएको यस केन्द्रले यस अवधिमा यस क्षेत्रमा बसोवास गर्ने जनताको जीवनस्तरमा सुधार तथा वातावरण संरक्षणका लागि आपसी ज्ञान, अनुभव आदानप्रदान तथा नीति कार्यक्रमहरू तर्जुमा गर्ने उपयुक्त संयन्त्रको रूपमा कार्य गर्दै आएको पत्रकार सम्मेलनमा केन्द्रका संस्थापक ब्रुमो मेस्सिेरीले बताए ।
सो अवसरमा केन्द्रका महानिर्देशक डा डेभिड मोल्डेनले हिन्दूकुश हिमालय क्षेत्रका राष्ट्रहरूको साझा समस्याहरूलाई समाधान गर्न यस क्षेत्रका मुलुकहरूको सहकार्यलाई अझ मजबुद बनाउन केन्द्रले विभिन्न रचनात्मक कार्यहरू गरेको बताए ।
हिमालय क्षेत्रमा केही वर्षयता जलवायु परिवर्तनका कारण विभिन्नखालका जोखिमहरू बढेको र त्यसले यहाँका जनताको जीविकोपार्जन झन समस्या थपिएकाले त्यसलाई समाधान गर्नका लागि यस क्षेत्रका मुलुकहरूको सहकार्यलाई बढाउन केन्द्रले सदस्य राष्ट्रहरूबीच समन्वयकारी भूमिका खेल्दै आएको उनले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us