
काठमाण्डु, १९ मंसिर– चिनियाँ साहित्यकार लु सुनको स्मृति दिवसका अवसरमा देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठानले यही मंसिर २१ गतेदेखि लु सुनको जीवन र लेखनसम्बन्धी दुई दिने प्रदर्शनीसहित विशेष कार्यक्रम गर्ने भएको छ ।
आधुनिक चीनको साँस्कृतिक क्रान्तिका अगुवा लु सुनले सन् १९१७ देखि साहित्य लेख्न थाल्नुभएको हो । आफ्नो जीवनकालमा उनले १६ वटा निबन्ध सङ्ग्रह रचना गर्नुको साथै साहित्य क्षेत्रमा ४० लाखभन्दा बढी शब्द खर्चेका थिए ।
साम्राज्यवादी राष्ट्रहरुले चीनलाई टुक्रा टुक्रा गरी भूमि बाँडाफाँड गरी लिन गरिएको पेरिस सम्झौताको विरुद्ध उनले साहित्यिक आन्दोलन गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले भनेका थिए, ‘लु सुन चिनियाँ साँस्कृतिक क्रान्तिका महान् नेता हुनुहुन्छ ।’
उनका २१ वटा पाण्डुलिपी चीनको विभिन्न सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । ‘बहुलाहाका डायरी’ लु सुनका विश्वप्रसिद्ध कृति हुन् । नेपालमा लु सुनबारे ६२ वर्षदेखि चर्चा सुरु भएको हो । चीनको बेइजिङबाट ल्याइएका लु सुनका महत्वपूर्ण फोटो, दस्तावेज तथा पुस्तक प्रदर्शनीमा राखिने बताइएको छ । त्यस्तै उनका विषयमा हुने विचार गोष्ठीमा नेपाल, चीन र अस्ट्रेलियाका विद्धानहरुले भाग लिने भएको सो प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन लु सुन सङ्ग्रहालयका निर्देशक याङ याङ, बेइजिङ युनिभर्सिटीका प्राध्यापक गाओ युआंगडोंग, रेनमिन युनिभर्सिटीका वरिष्ठ प्राध्यापक शुन यी तथा अस्ट्रेलियाका साउथ वेल्स युनिभर्सिटीका वरिष्ठ प्राध्यापक जोन एउगिन भोन कोलिसले भाग लिनेछन् ।