दाङमा अस्ट्रिच पालन सुरु, हेर्न मात्रै एक सय तिनुपर्ने

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ११:२५ मा प्रकाशित

ostrichदाङ, १९ मंसिर– दाङको बिजौरीमा पहिलोपटक लोपउन्मुख पक्षी अस्ट्रिचको व्यावसायिकरुपमा पालन सुरु गरिएको छ ।

अस्ट्रिचको मासु विश्वका धेरै देशबाट माग भइरहेको हुँदा यसको विस्तारका लागि यहाँ पनि व्यावसायिक रुपमा पालन सुरु गरेको हो । नयाँ जातको पक्षी जिल्लामा भित्रिएपछि दैनिक हेर्ने सर्वसाधारणको भिड लाग्ने गरेको छ । सर्वसाधारणका लागि अस्ट्रिच हेर्न एक सय र विद्यार्थीका लागि भने ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण पनि गरिएको छ ।

बजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली रहेको ८० बिघा क्षेत्रफल जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रुपमा अस्ट्रिच पालन सुरु गरेको हो । अहिलेसम्म १ सय ७१ वटा अस्ट्रिच ल्याइसकेको उक्त प्रालिका प्राविधिक मानबहादुर दर्लामीले जानकारी दिए ।

यस स्थानमा सात सय अस्ट्रिचपालन गर्ने तयारीका साथ हालसम्म चार करोड रुपैयाँ लगानी गरेर काम भइरहेको दर्लानीले बताए । सो प्रालिले रुपन्देहीमा पनि व्यावसायिक रुपमा अस्ट्रिच पालन गरेको छ । उनले दाङमा मासु, छाला, प्वाक, हड्डी भन्दा पनि अण्डा उत्पादन गर्ने र रुपन्देहीमा लगेर बच्चा उत्पादन गर्ने प्रालिको सोच रहेको बताए ।

एउटा अस्ट्रिचको तौल करिब २ सय ५० केजीसम्म हुने र प्रतिकिलो दुई हजारमा बिक्री हुने जनाइएको छ । हालसम्म प्रालिले यसको व्यावसायिक रुपमा पालन गर्नेका लागि रु चार करोड लगानी गरी सकेको जनाएको छ ।

त्यसैगरी सो पक्षी ८० वर्षसम्मा बाँच्ने र उसको अण्डा, छाला, प्वाँकसमेत महँगोमा बिक्री हुने गरेको प्रालिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us