सेना बलियो बनाउने संबिधानका लागि जनमत संग्रह

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ५:१२ मा प्रकाशित

Egyptकायरो, १९ मंसिर–इजिप्टमा सेनाको शक्तिलाई बलियो बनाउने नयाँ संविधानको मस्यौदा एक महिनाभित्र जनमत संग्रहमा लगिने भएको छ । अरब लिगका पूर्व प्रमुख अम्र मुसाले उक्त मस्यौदा अन्तरिम राष्ट्रपति एडली मनसुरलाई मङ्गलबार बुझाएका हुन् ।

मुसा नेतृत्वको ५० सदस्यीय समितिले नयाँ संविधान मस्यौदा गर्ने काम आइतवार पूरा गरेको थियो । मस्यौदा बुझाएपछि पत्रकार सम्मेलनमा उनले इजिप्टका सबै जनतालाई यस मस्यौदाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

पूर्व इस्लामी राष्ट्रपति मोहमद मोर्सीलाई जुलाइमा पदमुक्त गरेपछि इजिप्टको सेनाद्वारा स्थापित सरकारले प्रजातान्त्रिक सङ्क्रमणको पहिलो चरणको रूपमा संविधानको मस्यौदा उपलब्ध गराइने बचन दिएको थियो ।

मस्यौदा संविधानमा सेनालाई केही विषयमा सामान्य नागरिकमाथि कारवाही गर्ने, प्रतिरक्षामन्त्री नियुक्त गर्ने तथा नागरिक छलफलमा नल्याइने गरी सेनाको बजेट कायम गर्ने अधिकार रहेको छ । यस्ता अधिकार प्रायः प्रजातान्त्रिक मुलुकमा व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकालाई दिइने गरिन्छ । संविधानमा सेना, सैनिक संरचना तथा सैनिक कर्मचारीमाथि आक्रमण जस्ता अपराधमा सेनाले कारवाही गर्ने व्यवस्था गरिएको छ ।

धर्मनिरपेक्षताको पक्षमा रहेका कार्यकर्ता तथा अधिकारवादी समूहले यो प्रावधान प्रदर्शनकारी, पत्रकार तथा विरोधीमाथि उपयोग गर्न सकिने भनी यसको विरोध जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us