चिनियाँ युआनले यूरोलाई गर्‍यो प्रतिस्थापन

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ४:३९ मा प्रकाशित

Yuaanसाङघाइ, १९ मंसिर–चीनको युआनले युरोलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय व्यापार वित्तमा सबैभन्दा बढी प्रयोग हुने मुद्राको दोस्रो स्थान प्राप्त गरेको छ । सोसाइटी फर वर्ल्डवाइड इन्टरब्याङक फिनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) ले दिएको जानकारी अनुसार रेनमिन्बी (आरएमबी) नाम गरिएको युआनको अन्तर्राष्ट्रिय व्यापार वित्तमा बजार भाग अक्टोबर महिनामा ८.६६ प्रतिशत पुगेको देखिएको छ । यसले युरोको ६.६४ प्रतिशत बजार भागलाई प्रतिस्थापना गरेको स्विफ्टले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विश्व व्यापारमा अझै पनि डलरले प्रभुत्व जमाएको छ र उसको बजारभाग ८१.०८ प्रतिशत रहेको छ । स्विफ्टको एसिया प्रशान्त क्षेत्रका लागि भुक्तानी तथा व्यापार बजारका प्रमुख फ्र्याङक डी प्रेटेरले विश्वव्यापी तथा एसियाको व्यापार वित्तमा आरएमबी सबैभन्दा अधिक प्रयोग हुने मुद्राको रूपमा रहेको बताए ।

चीन, हङकङ, सिङ्गापुर, जर्मनी तथा अस्ट्रेलिया अक्टोबरसम्म व्यापार वित्तमा युआन प्रयोग गर्ने प्रमुख पाँच मुलुक भएको यस संस्थाले जानकारी दिएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र उसले विश्वव्यापी वित्तीय क्षेत्रमा ठूलो भूमिका खोजेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us