
काठमाण्डु, १८ मंसिर– नेपाली बजारमा छापावाला सुनको मूल्य आज प्रतितोला ५२ हजार ७ सय कायम भएको छ । सो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सस्तो भएकाले नेपालमा पनि मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा मौज्दातमा रहेको धेरै परिमाणको सुन फिर्ता भएका कारण सुनको मूल्य ओरालो लागेको बताए ।
उनले अहिले विवाह तथा व्रतबन्धलगायतका शुभकार्यको समय रहेकाले सुनको मूल्यमा कमी आउँदा उपभोक्ता लाभान्वित हुने र कारोबारमा पनि वृद्धि आउने जानकारी दिए । महासङ्घले दिएको जानकारीअनुसार अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन सुन प्रतिऔँस एक हजार २ सय ४७ अमेरिकी डलर रहेकामा आज २७ डलरले कमी भई १ हजार २ सय २० कायम भएको छ ।
त्यसैगरी तेजावी सुनको मूल्य आज प्रतितोला ५२ हजार ४ सय ५० कायम भई कारोबार भएको छ । सोको मूल्य अघिल्लो दिन ५३ हजार ४ सय ५० रहेको थियो । त्यस्तै असली चाँदीमा अघिल्लो दिनको तुलनामा २५ ले कमी भई प्रतितोला ८ सय ३५ रुपैयाँ कायम भएको छ ।