
बाबियाचौर, १८ मंसिर–म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी १४ महिनापछि काममा फर्किएको छ । २०६९ भदौ महिनादेखि काम रोकेको ठेकेदार कम्पनी आइभिआरसिएल यसै हप्तादेखि काममा फर्किएको हो ।
नेपाल विद्युत् प्राधिकरणसँग काम गर्न नपाएको समयको क्षतिपूर्ति माग दाबी गर्दै काम स्थगित गरेको थियो ।
निर्माण रोकेको १४ महिनापछि ठेकेदार कम्पनीले आयोजनाको सामान्य काम सुरु गरेको नेपाल विद्युत् प्राधिकरण राहुघाट आयोजनाका सहायक प्रशासकीय अधिकृत काशीराज दाहालले जानकारी दिए । यसअघि कम्पनी र प्राधिकरणबीच क्षतिपूर्तिको विषयमा पटकपटक छलफल भएको थियो । कम्पनीको मागका विषयमा छलफल भएपनि ठेकेदारले विनासर्त रोकिएको काम सुरु गरेको आयोजनाले जनाएको छ । कम्पनीले प्रारम्भिक चरणमा निर्माण सामग्री उत्पादन गर्ने क्रसरको कामलाई अघि बढाएको दाहालले जानकारी दिए ।
बत्तीस मेघावाट क्षमताको आयोजनाको सिभिल इन्जिनियरिङ कामअन्तर्गत १२ किलोमिटर प्रवेशमार्ग निर्माण, सात किलोमिटर टनेल, विद्युत् गृह, ड्यामलगायतका सिभिल इन्जिनियरिङसम्बन्धी काम गर्न २०६७ कात्तिक १८ गते भारतीय निर्माण कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले सम्झौता गरेको थियो ।