डब्लूटीओको नवौं सम्मेलन बालीमा शुरु

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ३:३६ मा प्रकाशित

Baliकाठमाण्डु, १८ मंसिर– विश्व व्यापार संगठन (डब्लूटीओ)को नवौं मन्त्रिस्तरीय सम्मेलन मंगलबार इन्डोनेसियाको बालीमा सुरु भएको छ । इण्डोनेशियाका राष्ट्रपति सुशिलो बांगबांग युधियोनोले भव्य समारोहबीच सम्मेलन उदघाटन गरेका छन् ।

अति कम विकसित मुलुकहरुको अध्यक्षको रुपमा रहेको नेपालले अध्यक्षता युगाण्डालाई हस्तान्तरण गरेको छ । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले गरेका छन् ।

यसअघि सोमबार बसेको विश्वका अति कम विकसित मुलुकहरु (एलडीसी) को बैठकले चार बुँदे बाली घोषणापत्र अनुमोदन गरेको थियो । एलडीसीले भन्सार तथा कोटारहित बजार पहुँच, कटन, सेवा व्यापारमा छूट र सहुलियतपूर्ण उत्पतिको नियम सरलीकृत गर्ने एजेण्डा सर्वसम्मत पारित गरेको हो । बैठकले आफ्ना माग तत्काल लागू गर्न विकासशील मुलुकहरुलाई दवाव पनि दिएको छ ।

नेपाल सन् २००४ मा डब्लू टी ओ को सदस्य बनेको थियो । हाल डब्लुटीओमा विश्वका १ सय ४९ देश सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us