समानुपातिक सिट वितरण आज

काठमाण्डु टुडे २०७० मंसिर १८ गते १:५८ मा प्रकाशित

nirbachan-aayog
काठमाण्डु, १८ मंसिर–निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्याबारे मंगलबार औपचारिक जानकारी गराउँदै छ ।

त्यसकालागि आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा संविधानसभा निर्वाचनमा भाग लिएका सबै १२२ दलका प्रतिनिधिलाई बोलाएको छ । आयोगले समानुपातिक तर्फको सिटबारे जानकारी गराएपछि दलहरुले एक साताभित्र समानुपातिक सिद्धान्तको आधारमा समानुपातिक सभासदको नाम बुझाउनु पर्ने छ । यसरी नामावली बुझाउँदा जातिय, क्षेत्रीय, लैङ्गिक र पीछडिएको क्षेत्रबाट तोकिएको अनुपातमा सभासदहरुको नाम तोक्नु पर्ने छ । आयोगमा बुझाइएको नामावली सच्याउनु पर्ने भए दलहरुले थप तीन दिनको समय उपलब्ध गराउने छ ।

यसका साथै मन्त्रिपरिषदबाट मनोनित हुने २६ जनामा दलहरुले सहमति जुटाउनु पर्ने हुन्छ । समानुपातिक सभासद चयनको काम सकिएपछि नयाँ सरकार गठनको कामले थप तिव्रता पाउने बताइएको छ ।

मंसिर चार गते भएको दोस्रो संविधानसभा चुनावमा समानुपातिक तर्फ ९४ लाख ६३ हजार ८ सय ६२ मत सदर भएको थियो । त्यसपछि नेपाली काँग्रेसले सबैभन्दा बढि २४ लाख १८ हजार ३ सय ७० मत पाएको छ ।

यसैगरी नेकपा एमालेले २२ लाख ३९ हजार ६ सय ९ र एकीकृत नेकपा माओवादीले १४ लाख ३९ हजार ७ सय २६ मत पाएका छन् ।

यसपाली चुनावमा १८ हजार ४ सय मत ल्याउने दलहरुको संविधानसभामा एक सिट प्रतिनिधित्व हुनेछ । यो संख्या ल्याउने दलहरुको संख्या ३१ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us