बङ्गलादेशको प्रतिपक्षी गठनबन्धनद्वारा जनवरी ५ को निर्वाचन बहिष्कारको घोषणा

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १५:१७ मा प्रकाशित

ढाका, १७ मङ्सिर–बङ्गलादेशका प्रतिपक्षी गठबन्धनले सोमबार जनवरीमा हुने आमनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । उनीहरूले उम्मेदवारको नाम दर्ता गर्ने अन्तिम मितिसम्म मनोनयनको कार्य गरेका छैनन् र यसले मुलुकलाई राजनीतिक नयाँ अस्थिरतातिर धकेलेको छ ।
प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टीले बढ्दो सडक हिंसाबीच उक्त घोषणा गरेको हो । अक्टोबर महिनादेखि आरम्भ भएको शृङ्खलाबद्ध हडताल तथा बन्दले मुलुकको ठूलो भागलाई ठप्प पारेको छ भने करिब ५२ व्यक्तिको मृत्यु भइसकेको छ ।
बीएनपीका उपाध्यक्ष शंशेर मोबिन चौधरीले जनवरी ५ मा हुने निर्वाचनका लागि नाम दर्ता गर्ने प्रश्न नभएको र आफूहरूले यस निर्वाचनमा भाग नलिने बताए ।
उम्मेदवारको नाम दर्ता सोमबार साँझ पाँच बजे बन्द भएको छ र अधिकारीहरूले बीएनपीका कार्यकर्ताहरूले उम्मेदवारी नदिएको बताएका छन् ।
नोभेम्बर २५ मा निर्वाचन मिति घोषणा भएपछि अस्थिरता बढेको छ र यसपछि २२ व्यक्तिको मृत्यु भइसकेको छ । सोमबार सत्ताधारी तथा प्रतिपक्षी कार्यकर्ताबीचको झडपमा दुई व्यक्तिका मृत्युभएको छ ।
बीएनपीले सोमबार ७२ घण्टे राष्ट्रव्यापी यातायात बन्द बिहीबारसम्मका लागि बढाएको छ । उपाध्यक्ष चौधरीले गैरदलीय निष्पक्ष सरकारले गराएमा मात्र बीएनपी तथा १७ साना पार्टीले निर्वाचनमा भाग लिने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us