एलडीसीमा ४ बुँदे घोषणापत्र अनुमोदन

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– विश्वका अति कम विकसित मुलुकहरु (एलडीसी) को बैठकले चार बुँदे बाली घोषणापत्र अनुमोदन गरेको छ ।

विश्वका ४९ देशका वाणिज्य मन्त्री सदस्य रहेको एलडीसीले भन्सार तथा कोटारहित बजार पहुँच, कटन, सेवा व्यापारमा छुट र सहुलियतपूर्ण उत्पत्तिको नियम सरलीकृत गर्ने एजेण्डा सर्वसम्मत पारित गरेको छ ।

बैठकले आफ्ना माग तत्काल लागू गर्न विकासशील मुलुकहरुलाई दबाब पनि दिएको छ । बैठकको अध्यक्षता गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले अति कम विकसित मुलुकमा रहेको गरिबी अन्त्य गर्न बहुपक्षीय व्यापार प्रणाली आवश्यक भएको बताए ।

WTO OMC bali Nepal

व्यापारलाई आर्थिक विकासको आधार बनाउनुपर्ने बताउँदै मन्त्री कोइरालाले बहुपक्षीय व्यापार प्रणालीबाट फाइदा लिन आर्थिक तथा प्राविधिक अवसरको बाटो खोल्नुपर्नेमा जोड दिए । आफूले पाउनुपर्ने अधिकार स्थापित गर्न एलडीसीले एकस्वरले आवाज उठाउन जरुरी भएको बताउँदै कोइरालाले भने, ‘डब्लुटीओका तीनवटा प्रमुख अंगमध्ये एक रहेको एलडीसीलाई थप उत्तरदायी बनाउँदै लानुपर्छ । यसबाट चुनौतीसंगै अवसरका बाटाहरु पनि खुल्नेछन् ।’

एलडीसीको अध्यक्ष रहेको नेपालले अर्को कार्यकालका लागि युगाण्डालाई पद हस्तान्तरण गरेको छ । विश्व व्यापार संगठनको वाणिज्य मन्त्रीस्तरीय विश्व सम्मेलन मंगलबार इण्डोनेशियाका राष्ट्रपति सुशिलो बांगबांग युधियोनोले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । डब्लुटीओमा विश्वका १ सय ४९ देश सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us