नेटवर्कमा कुनै समस्या नभएको टेलिकमको दावी

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ११:१९ मा प्रकाशित

nepal telecomकाठमाण्डु, १७ मंसिर– राजधानीमा उल्लेख्य संख्यामा ‘विटीएस’ टावरहरु थप गरिएकोले नेटवर्कमा कुनै पनि समस्या नभएको नेपाल टेलिकमले दावी गरेको छ ।

राजधानीमा पूराना विटीएस हटाएर नयाँ विटीएस थपिएको र विद्युत् भार कटौती भएको बेलामा समेत सौर्य ऊर्जा प्रयोग गरेर विटिएसलाई सञ्चालन गरिएका कारण समस्या कम भएको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताएकी छिन् ।

पछिल्लो पटक मात्रै टेलिकमले राजधानीमा तीन सयभन्दा बढी नयाँ विटीएसहरु थप गरेको उनले बताइन् । राजधानी बाहिर पनि नयाँ प्रविधिको विटीएस थप गर्ने योजना रहेको छ ।

प्रवक्ता प्रधानले भनिन्, ‘पछिल्ला दिनमा नेटवर्कमा समस्या आएको भन्ने गुनासो कम आएको छ, सबै स्थानमा विटीएसको अपग्रेड र नयाँ विटीएस जडान गरिएपछि समस्या न्यून बिन्दुमा पुग्ने विश्वास लिएका छाैँ ।’ टेलिकमले पछिल्लो पटक चिनियाँ कम्पनी हुवावेको नयाँ प्रविधि जडान गरेका कारण समस्यामा कमी आएको हो ।

थ्रीजी र एडिएसएल समेत स्तरीय

टेलिकमले तेस्रो पुस्ता मानिएको थ्रिजी नेटवर्कमा समेत स्तरोन्नति गरेको बताएको छ । विद्युत् भार कटौती भएको बेलामा समेत ‘व्याकअप’को रुपमा सौर्य ऊर्जा प्रयोग गर्ने गरी व्यवस्था मिलाएको र नेटवर्क व्यवस्त रहने स्थानमा मोबाइल भ्यानमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

यस्तै एडिएसएललाई पनि व्यवस्थित बनाउन लागिएको र यसको समस्या समेत केही समयभित्रै समाधान हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us