सरकारले क्रिकेट खेलाडीलाई १०/१० लाख दिने

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १२:३२ मा प्रकाशित

singh durbarकाठमाण्डु, १७ मंसिर– नेपाललाई विश्वकपमा पुर्‍याउन सफल क्रिकेट खेलाडी, प्रशिक्षक तथा सहयोगीहरुलाई सरकारले उल्लेख्य रकमका साथ पुरस्कृत गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाललाई विश्वकपमा प्रवेश गराएका राष्ट्रिय क्रिकेट टिममा १५ जना खेलाडीहरुलाई जनही १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै प्रशिक्षकलाई ५ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ । सहायक प्रशिक्षक तथा सहयोगीहरुलाई भने सरकारले ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रको गौरव उच्च पार्ने कार्य गरेको भन्दै सरकारले क्रिकेट टिमलाई सम्मानका साथ रकम उपलब्ध गराउने निर्णय गरेको हो । यूएईमा भएको ट्वान्टी–२० विश्कप छनोट खेलबाट पारस खड्काको कप्तानीमा रहेको टिमले नेपाललाई आउँदो वर्ष बंगलादेशमा हुने विश्वकप क्रिकेटमा प्रवेश गराएको थियो ।

त्यस्तै मन्त्रिपरिषदले चुनाव अघि अज्ञात समूहको पेट्रोल बम प्रहारबाट घाइते भई उपचारका क्रममा काठमाण्डुमा निधन भएका ट्रक ड्राइभर राजकुमार देउजाको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । साथै काठमाण्डुको भोटेबहालमा बम विष्फोट हुँदा घाइते भएका बालकको अध्ययन तथा उपचार खर्चको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ ।

बैठकले सरकारले निश्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचनलाई सफल बनाउन सघाउने सबैलाई धन्यवाद दिएको छ ।

सम्बन्धीत समाचार: देश फर्किने बित्तिकै क्रिकेट टिमको अर्को जित

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us