पुस तेस्रो सातादेखि रेल्वे विस्तार

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १४:३५ मा प्रकाशित

Nepal-Trainजनकपुरधाम, १७ मंसिर–निर्माण सामग्री समयमै नेपाल ल्याइए पुसको तेस्रो सातादेखि रेल्वे विस्तार कार्य प्रारम्भ हुने भएको छ । भारतीय सीमासित जोडिएको धनुषाको इनर्वा गाविसबाट रेल्वे विस्तार कार्य सुरु हुने बताइएको छ ।

सुरुमा माटो पुर्ने र पुल निर्माण कार्य गरिने छ । गत असोज महिनामा एक भारतीय निर्माण कम्पनीले ठेक्का लिएपछि काम सुरु हुने सम्भावना बढेको छ ।

भारतको सहयोगमा जनकपुर–बर्दिवास रेल विस्तार गर्न लागिएको हो । यसअघि भारतीय निर्माण कम्पनीले ठेक्का लिन नरुचाएपछि पटक पटक टेन्डर गर्नुपरेको थियो ।

दुई पटकको सर्वे पूरा भइसकेको छ भने मुआब्जा वितरण कार्य पनि धनुषामा ९० प्रतिशत पूरा भइसकेको जनकपुर–जयनगर बर्दिवास ब्रोडगेज रेल्वे निर्माण साइट जनकपुरका प्रमुख टेकराज बोहराले जानकारी दिए । काम सुरु हुन नसकेका कारण मुआब्जा कार्य पूरा हुन नसकेको बताउँदै उनले काम सुरु भएलगत्तै मुआब्जा कार्य पूरा गरिने बताए । बोहराका अनुसार सरकारले भारतीय ठेकेदारलाई निर्माण सामग्री ल्याउन भन्सार छुट गराउन सहयोग गरे पुस तेस्रो सातादेखि काम सुरु हुन्छ ।

ठेक्काको काम पूरा भइसकेको र निर्माण कार्यमा प्रयोग गरिने निर्माण सामग्री नेपाल ल्याउन भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । भन्सार छुट पत्र प्राप्त भएको केही दिनभित्रै सामान ल्याएर काम थाल्ने तयारी रहेको जनाइएको छ । एक महिना अघिमात्र एक भारतीय कन्स्ट्रक्सन कम्पनीले रेल्वे विस्तार काम ठेक्का लिएको छ र ठेक्का लिएको निर्माण कम्पनीले दुई वर्षभित्रमा काम पूरा गर्नुपर्ने सम्झौता भएको छ ।

रेल्वे विस्तारका लागि सर्वे भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि काम सुरु हुन सकेको थिएन । जग्गा अधिग्रहणको मुआब्जा नेपाल सरकारले उपलब्ध गराएको छ भने रेल्वे लिक ओछ्याउन, पुल निर्माण गर्न, माटो पुर्न, इन्जिन, बोगीलगायतका सामग्री भारत सरकारले उपलब्ध गराउने छ ।

सन् २०१० फेब्रुअरीमा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार रेल्वे निर्माण कार्य ढिलोमा तीन वर्षमा सम्पन्न गर्नुपर्ने थियो ।

धनुषामा मुआब्जा वितरणको कार्य ९० प्रतिशत भइसकेको छ भने महोत्तरीमा ६० प्रतिशत भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us