कफी ढुवानी गर्ने सडक बनाउन रकम सहयोग

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ४:४९ मा प्रकाशित

गुल्मी, १७ मंसिर–कफी ढुवानी गर्ने सडक मर्मत गर्न जिल्ला सहकारी संघ गुल्मीले ४० हजार रुपैयाँ सहयोग गरेको छ । सहकारी संघको सामाजिक उत्तरदायित्वको कार्यक्रम सुरु गरेको जिल्ला सहकारी संघ गुल्मीले अश्लेवा गाविसको मलेमा सडक मर्मतका लागि ४० हजार नगद सहयोग उपलब्ध गराएको हो ।

किसानले उत्पादन गरेको कफीलाई यातायात मार्फत संकलन केन्द्रसम्म पुर्याउन सजिलो होस् भन्ने उद्देश्यले सडक मर्मतका लागि किसानहरुलाई रकम सहयोग गरेको जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्यले जानकारी दिए ।

रकम ग्रहण गर्दै स्थानीय कफी सहकारीका अध्यक्ष देवीप्रसाद पाण्डेले सहकारीले कफी किसानको हौसला बढाएको भन्दै उक्त रकम र जनश्रमदान गरेर तीन किलोमिटर सडक मर्मत गरिने बताए ।

जिल्ला सहकारी सङ्घले विगत चार वर्षदेखि किसानले उत्पादन गरेको कफी बिक्रीबाट आएको रकममध्ये केही रकम कफी किसानको हितका लागि सामाजिक विकासमा खर्चिंदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us