
काठमाण्डु, १६ मङ्सिर–प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोले बैंकिङ कसुरमा संलग्न चार व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा एनआइडिसी क्यापिटल मार्केट्सका तत्कालीन कार्यकारी अधिकृत खुमबहादुर हिरा सिंह राना, एनआइडिसीकै तत्कालीन कर्जा प्रमुख मिना श्रेष्ठ, धितो मूल्याङ्कनकर्ता प्रमोदबहादुर थापा र ऋणी रत्नकुमार गौतम रहेको व्यूरोले जनाएको छ ।
एनआइडिसीबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा कर्जा प्रवाह गर्ने सिलसिलामा आफूलाई प्राप्त भएको अख्तियारी र स्वीकृत सीमाको दुरूपयोग गरेको, वित्तीय संस्थाको हित प्रतिकूल हुने गरी कार्य गरी वित्तीय संस्थालाई प्रत्यक्ष रूपमा हानी नोक्सानी पु¥याएको, ऋणीहरूको मिलोमतोमा कम्पनीको कोष र कर्जाको दुरूपयोग गरेको, कर्जाका लागि धितो राखिएको सम्पत्तिको अधिक मूल्याङ्कन गराएको, कर्जाको रकम परियोजनामा खर्च नगरी दुरूपयोग गरी बैंकिङ कसुर गरेकोले सो कार्यमा संलग्न रहेका ती व्यक्तिहरूलाई पक्राउ गरेको व्यूरोले आइतवार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।