निर्यात वस्तुमा ४६ प्रतिशत हस्तकलाका सामग्री

काठमाण्डु टुडे २०७० मंसिर १६ गते २:४५ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– नेपालबाट उत्पादन भई विदेशमा निर्यात हुने कुल उत्पादन वस्तुमा हस्तकलाका सामग्रीले ४६ प्रतिशत स्थान ओगटेका छन् । आर्थिक वर्ष २०६९÷७० मा दुई अर्ब ७४ लाख छ हजार ३२० बराबरको हस्तकलाका सामग्रीको कारोेबार भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले मुलुकमा हस्तकला क्षेत्रको संरक्षण गर्न सकेमा वैदेशिक मुद्रा आर्जन भई व्यापार घाटा कम गर्न सकिने बताएका छन् ।

नेपाल हस्तकला महासंघले शनिबार काठमाण्डु गरेको ‘गरिबी निवारणमा हस्तकला उद्योगको भूमिका’ विषयक अन्तक्र्रियामा उनले प्राचीन कलाकृति तथा संस्कृतिको आधारमा निर्माण हुने हस्तकलाको विदेशमा राम्रो माग रहेकाले यसको आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिए । विभिन्न मुलुकको मागअनुसार हस्तकलाका सामग्रीको उत्पादनमा जोड दिनुपर्छ भन्दै उनले यसका लागि मन्त्रालयले साना तथा घरेलु उद्योगको विकासका लागि विभिन्न सहुलियत, तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा महासंघ अध्यक्ष हेमरत्न शाक्यले दक्ष जनशक्तिको अभाव र विभिन्न श्रमिक संगठनको दबाबका कारण समयमा वस्तु तथा सामग्री उत्पादनमा समस्या रहेको भन्दै कच्चा पदार्थको आयातमा भन्सार शुल्कमा सहुलियत प्रदान गर्नुपर्नेमा धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us