एक वर्षदेखि भत्ता पाएनन् जेष्ठ नागरिकले

काठमाण्डु टुडे २०७० मंसिर १६ गते २:२३ मा प्रकाशित

गौशाला, १६ मंसिर–महोत्तरी जिल्लाको उत्तरवर्ती लोहारपट्टी गाउँ विकास समितिका वृद्धवृद्धाले विगत एक वर्षदेखि समाजिक सुरक्षा भत्ता पाएका छैनन् । गाविस सचिव रामएकवाल यादवको लापरबाहीका कारण वृद्धावृद्धालाई सामाजिक सुरक्षा भत्ता पाउन नसकेको स्थानीयको आरोप छ ।

विगत एक वर्षदेखि सामाजिक सुरक्षा भता नपाएका कारण आफूलाई सामान्य उपचारका लागिसमेत समस्या भएको लोहारपट्टी–८ का ८७ वर्षीय अमिरी साह कानुले दुखेसो पोखे ।

आर्थिक बर्ष २०६९/७० मा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नदिएपछि कानुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा गत असोज महिनामा निवेदनसमेत दिएका थिए । तर उक्त निवेदनमाथि हालसम्म कुनै कारबाही नभएको उनको गुनासो छ ।

गाविस सचिव यादवले भने आफूलाई गाविसमा ज्यानको सुरक्षा नभएको भन्दै लोहारपट्टीमा नगएर आफ्नै घर महदैयामा सामाजिक सुरक्षा भत्ता लिन सबैलाई बोलाउने गरेका छन् । गाविस सचिव यादवको लापरबाहीका कारण कानुजस्ता लोहारपट्टीका अधिकांश वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् ।

वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता नपाउने समस्या जिल्लाको लोहारपट्टीलगायत बनौलीदनौली, गैडाभेटपुरलगायतका गाविसमा पनि रहेको सुशासनका लागि भ्रष्टाचारविरुद्ध संघर्ष समिति महोत्तरीका सदस्य श्यामलाल साहको भनाइ रहेको छ । उनले यो समस्याका लागि तत्कालै सम्बन्धित निकायले पहल गर्नुपर्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us