
गाईघाट, १६ मंसिर–उदयपुर जिल्लाको जोगीदह गाविस–९ मोथ्याईमा हवाई मैदान निर्माण गर्ने अन्तिम तयारी भएको छ । लामो समयदेखि उदयपुरमा हवाई मैदान निर्माण गर्नका लागि विभिन्न स्थानमा जग्गा व्यवस्थापन र सर्भे हुँदै आए पनिे अन्तिम समयमा आएर मोथ्याईमा हवाई मैदान निर्माण हुन लागेको हो । यसअघि नै त्रियुगा नगरपालिकास्थित वडा नं १४ को चुहाडेमा हवाई मैदान निर्माण गर्ने भनेर सर्भे भए पनि त्यहाँ पर्याप्त जग्गा नभएका कारण जोगीदहस्थित मोथ्याईमा परिवर्तन गर्नुपरेको हो ।
हवाई मैदान निर्माण गर्नका लागि अहिले मोथ्याईस्थित त्रियुगा नदी किनार क्षेत्रको झन्डै ८० बिघाभन्दा बढी सरकारी तथा ऐलानी जग्गामा नेपाल नागरिक उड्डयन प्राधिकरण विभागबाट तीन पटक सर्भे भई नक्साको अन्तिम तयारी भैरहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं १ बाट निर्वाचित सभासद् डा. नारायण खड्काले जानकारी दिए । ‘लामो प्रयासपछि अब हवाई मैदानको सर्भे पास भई नक्साको तयारी हुँदैछ, नक्सा तयार भएपछि हवाई मैदान निर्माणको काम सुरु हुन्छ,’ उनले भने । हवाई मैदान निर्माण गर्न केही बजेटसमेत विनियोजन भइसकेको खड्काले जानकारी दिए ।