
दमक, १५ मंसिर– झापाको दमकमा सुन्तलाको कारोबारमा वृद्धि भएको छ । कात्तिकको पहिलो साताबाट फागुनसम्म यहाँ सुन्तलाको बिक्री हुने गर्दछ ।
पहाडी क्षेत्रमा सुन्तला प्रमुख नगदेबाली हो । दमक क्षेत्रमा जाडोयामभरि ठूलो परिमाणमा सुन्तलाको कारोबार हुने गरेको छ । यहाँ पूर्वी पहाडी क्षेत्रबाट सुन्तला खपत हुने गरेको व्यवसायी वर्त सुब्बाले बताए । दमकमा इलाम, धनकुटा ताप्लेजुड, पाँचथरलगायतका जिल्लाबाट दैनिक ६० क्विन्टल सुन्तला आउने गरेको छ ।
इलामको नामसालिङ, सलकपुर, पाँचथरको कुरुम्बा, हाडपाड र ताप्लेजुङका विभिन्न स्थानबाट झापामा सुन्तला आउने गर्दछ । पोहोरको तुलनामा यो वर्ष सुन्तलाको व्यापारमा वृद्धि भएको सुब्बाले बताए । मेची फ्रुट सेन्टर दमकका सञ्चालक मुकेश शाहले इलाम र धनकुटाबाट बढी मात्रामा सुन्तला आउने गरेको बताए ।
बजारमा सुन्तलाको मूल्य प्रतिकेजी रु ६० देखि रु १०० सम्म पर्ने गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तलाको भाउ उच्च भएको व्यवसायीहरु बताउँछन् ।